बिर्तामोड, पुस २७ । झापा जिल्लास्तरीय गायन तथा लोक नृत्य प्रतियोगितामा भद्रपुरको ग्रिनफिल्ड इङलिस स्कुल सांस्कृतिक नृत्यतर्फ झापा जिल्ला दोस्रो भएको छ ।

भद्रपुर नगरपालिकाको समग्र संस्थागत विद्यालयहरुको प्रतिनिधित्व गर्दै सहभागी भद्रपुर २ को सो विद्यालयका विद्यार्थीले पूर्वी नेपालमा बसोबास गर्ने किरात बाहिङ (वायुङ) राई जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको सेग्रो नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रिन्सिपल सन्देश राईका अनुसार नृत्य प्रतिस्पर्धामा पहिरन, मौलिकता र अन्यभन्दा फरक प्रस्तुतिका कारण नृत्य छनोटमा परेको हो । प्याब्सन झापाको ३५ औँ स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयले विविध जाति तथा समुदायहरुको छायाँमा परेका, लोपोन्मुख लोक, सांस्कृतिक नृत्यहरुको खोज अनुसन्धान गरी पाँच वर्षययता निरन्तर प्रस्तुति दिँदै आएको छ । मेरो डान्स युनिभर्स सिजन २ सम्म आफ्नो प्रस्तुति दिइसकेको सो विद्यालय भद्रपुर नगरको एक उत्कृष्ट विद्यालय हो ।
माघ ५ गते दमकको सिद्धार्थ बोर्डिङ स्कुलमा आयोजना हुने कोशी प्रदेशस्तरीय प्रतिस्पर्धामा झापाबाट प्रतियोगीको रुपमा सहभागी हुनेछ ।


