२०८२ चैत्र २३ सोमबार
Jhapa Today
Adv top

झापामा अनलाइन बेटिङमा संलग्नमाथि उच्च निगरानी


बिर्तामोड, चैत २३ । प्रहरी र विशेष अनुसन्धान टोलीले झापाका विभिन्न स्थानबाट हुने गरेको अनलाइन बेटिङ सट्टेबाजीमा संलग्न व्यक्तिहरुमाथि निगरानी बढाएको छ ।

उच्चस्तरीय स्रोतले दिएको जानकारीअनुसार त्यस्ता सट्टेबाजहरु सबैभन्दा धेरै बिर्तामोडमा रहेका छन् । त्यस्तै, दमक, धुलाबारी, काँकरभिट्टालगायतका ठाउँहरूमा एजेन्टमार्फत कारोबार हुँदै आइरहेको प्रहरीले तथ्य फेला पारेको छ ।

सरकारले अनलाइन बेटिङ सट्टेबाजीजस्ता एप्सहरू बन्द गर्न निर्देशन दिएपछि सट्टेबाजीमा संलग्न झापाका ती व्यक्तिहरुको खोजी कार्य तीव्र बनाइएको छ प्रहरीको विशेष टोलीका एकजना अधिकृतले झापा टुडेलाई जानकारी दिए ।

सटेबाजीका कारणले गर्दा झापाका धेरै व्यवसायी तथा युवाहरूको अवस्था नाजुक भएको प्रहरीको निष्कर्ष छ । प्रहरीले उनीहरुमाथि सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

सट्टेबाजीमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न झापाका धेरै कारोबारीको नाम तथा अन्य विवरण प्राप्त भइसकेको र अनुसन्धान पूरा भएपछि पक्राउ गर्ने तयारी भएको ती प्रहरी अधिकृतले जानकारी दिए ।

हाल इन्डियन प्रिमियम लिग (आइपिएल) चलिरहेका बेला झापामा अनलाइन बेटिङमार्फत सट्टेबाजीको काम झनै बढिरहेको छ । नेपालमा त्यस्ता एप्सहरु बन्द गरिएको भनिए पनि झापालगायतका सीमावर्ती जिल्लामा निर्वाध कारोबार भइरहेको छ ।

Adv footer