
बिर्तामोड, बैशाख २ । झापाको अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा जारी इन्डो–नेपाल यु–१३ टि–२० क्रिकेट च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बि’ को दोस्रो खेलमा इनरुवाको फूलबारी स्पोट्र्स एकेडेमीले भारत पटनाको एचपी (हाई पर्फमेन्स) क्रिकेट एकेडेमीमाथि ४ विकेटको रोमाञ्चक जित निकालेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको एचपीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । टोलीका लागि अंशु कुमारले १२ बलमा २७ रनको आक्रामक इनिङ्स खेले भने जित ज्योतिले ४० बलमा २० रन जोडे । अंकित कुमारले १३ रन बनाउँदा अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन् ।

फूलबारीका बलर अब्दुल राफेले ४ ओभरमा २ विकेट लिए । दिवस विष्ट र अस्दुल्ला अन्सारीले समान १/१ विकेट लिएर विपक्षीलाई मध्यम स्कोरमा सीमित राखे ।

१४० रनको लक्ष्य पछ्याएको फूलबारीले १६.१ ओभरमा ६ विकेट गुमाउँदै सहज जित हात पा¥यो । टोलीका लागि रेहान अन्सारीले २६ रनको महत्वपूर्ण इनिङ्स खेले भने दिवस विष्ट २१ रनमा अविजित रहे । अब्दुल राफेले १९ रन थप्दै जितमा बलियो साथ दिए ।

एचपीका बलरहरूमा आयुष कुमार, शशांक शेखर र अंशु कुमारले समान १/१ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका दिवस विष्ट प्लेयर अफ द म्याच भए । उनले २१ रन बनाउनुका साथै १ विकेट लिएका थिए ।

यससँगै समूह ‘बि’ मा प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ । यसअघि पहिलो खेलमा इनरुवा क्रिकेट क्लबले लायन क्रिकेट एकेडेमी विराटनगरलाई १८५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
यसअघि समूह ‘ए’ बाट बोस्टन क्रिकेट एकेडेमी र सरस्वती क्रिकेट एकेडेमीले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा जारी प्रतियोगितामा नेपाल र भारतका १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक नवनीत एकेडेमी हो ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।





