
बिर्तामोड, बैशाख ९। सरकारले विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन निर्देशन दिएको छ । यातायात व्यवस्था विभागले २०६५ फागुन २० मा भएको सरकार र यातायात व्यवसायीहरूबीच निर्णयलाई स्मरण गराउँदै गाडी भाडामा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।सांकेतिक तस्बिर
साार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गरेर निर्देशन दिएको हो ।

यदी कुनै पनि सवारी साधनले विद्यार्थी परिचयपत्र बोकेका विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट नदिएमा वा आनाकानी गरेमा कारबाही प्रक्रिया अगाडि बढाइने विभागको चेतावनी छ ।

हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले सार्वजनिक यातायातमा तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरीहरू आइरहेको विभागले जनाएको छ ।






