
बिर्तामोड, जेठ १८ । सरकारले आन्तरिक उत्पादन प्रवद्र्धन तथा संरक्षण गर्न २५६ वटा आयातित वस्तुमा ५ देखि १५ प्रतिशतसम्म अतिरिक्त शुल्क लगाएको छ । सरकारले आन्तरिक उत्पादन प्रवर्द्धन र संरक्षण गर्न त्यस्ता वस्तु आयातमा अतिरिक्त शुल्क लगाएको हो ।

ती वस्तुमा भन्सारपछिको मूल्यमा यस्तो शुल्क लगाउने आर्थिक विधेयक २०८३ मा उल्लेख छ । आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक उत्पादन निरुत्साहित गर्ने खालका वस्तु आयात घटाउन भन्सार लगाइएको दाबी गरेका छन् ।

उनले शुक्रबार आन्तरिक उत्पादन प्रवद्र्धन तथा संरक्षण गर्न ५ देखि १५ प्रतिशतसम्मको थप कर कायम गरेको बताए । बजेटमार्फत परिवर्तन भएको भन्सार दरलाई कानुनी रूप दिन ल्याइएको आर्थिक विधेयक अनुसार ४१ शीर्षकभित्र रहेका २५६ वटा उपशीर्षकका वस्तु आयातमा ५ देखि १५ प्रतिशतसम्म भन्सार दर लगाइएको छ ।

सरकारले गाढा पारिएको वा चिनी वा अन्य गुलियो पदार्थ हालिएको दूध र तर, तौलमा फ्याटको मात्रा १.५ प्रतिशतभन्दा बढी नभएको धुलो, दाना वा अन्य ठोस वस्तुमा १० प्रतिशत भन्सारपछिको मूल्यमा शुल्क ताकेको हो ।

त्यसैगरी, चिल्लो हटाइएको दूध, चिनी वा अन्य गुलियो पदार्थ, दूधबाट निकालिएको नौनी तथा अन्य फ्याट वा चिल्लो पदार्थ भएका वस्तुमा पनि १० प्रतिशत शुल्क तोकिएको छ ।

त्यसैगरी सरकारले नभुटेको÷भुटेको कफीमा १० प्रतिशत, ग्रिन टिमा १० प्रतिशत, मरिचमा १० प्रतिशत र टिमुरमा १० प्रतिशत भन्सार तोकेको छ । दालचिनीमा १० प्रतिशत शुल्क तोकिएको छ भने अदुवा, केशर, हलेदो, तेजपात, पुदिना, तरकारी र अन्य मसलामा ५ प्रतिशत शुल्क थप लगाइएको छ ।
सरकारले आगामी आर्थिक वर्षदेखि बाँस आयातमा १० प्रतिशत शुल्क तोकेको छ । कत्था र कपासमा भने ५ प्रतिशत शुल्क लाग्ने आर्थिक विधेयक २०८३ मा उल्लेख छ ।
सरकारले दाउरा आयातमा ५ प्रतिशत भन्सार तोकेको छ । कोइला आयातमा १५ प्रतिशत थप शुल्क तोकेको छ । यसरी नेपालमा उत्पादन हुने विभिन्न २५६ वस्तु आयात भएको खण्डमा ५ देखि १५ प्रतिशतसम्म भन्सार तोकेको हो ।







