२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेश १ मा ९०६ जनाको कोरोना परीक्षण, बढाइयो परीक्षण दर


झापा, बैशाख १३ । प्रदेश १ मा शुक्रबारसम्म ५ हजार ६६ जनाको कोरोना परीक्षण गर्ने काम सम्पन्न भएको छ । पिसिआर विधिबाट ९०६ र आरडिटीबाट यो अवधिमा ४ हजार १६० जनाको नमुना संकलन भई परीक्षणमा गरिएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार पिसआर विधिबाट २४३ महिला र ६६३ पुरुषको परीक्षण गरिएको छ । उनीहरुमध्ये ८७ महिला र ४९६ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आरडिटीबाट परीक्षण गरिएकामा ६७६ महिला र ३ हजार ८८४ जना पुरुष छन् ।

यसैबीच, कोरोना संक्रमित भेटिन थालेपछि प्रदेश १ मा परीक्षणको दर बढाइएको छ । द्रुत परीक्षण विधि (आरडिटी) र र्याल परीक्षण विधि (पिसिआर) दुवै विधिबाट परीक्षणको दायरा बढाइएको घिमिरेले बताए । कोरोनाको उच्च संक्रमण देखिएको ठाउँ पहिचान गरी त्यस क्षेत्रमा आशंका गरिएका मानिसमा कोरोना परीक्षण गर्ने कामलाई तीव्रता दिइएको छ ।

त्यस्तै, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या १ हजार १६३ जना पुगेको छ । ४३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् ।

होम क्वारेन्टाइनमा जम्मा ५ हजार ३८७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ९०३ र पुरुष ४ हजार ४८४ जना रहेका छन् ।

प्रदेश १ मा पिसिआरबाट सबैभन्दा बढी दैनिक ११२ जनाको स्वाब परीक्षण गर्न सकिनेछ । विराटनगरको कोसी अस्पतालबाट १०० र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार गरिएका ल्याबबाट दैनिक १२ जनाको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । धरानमा पनि केही दिनभित्रै १०० क्षमताको बनाउने तयारी भइरहेको छ ।

यसैबीच, प्रदेश १ सरकारले तयार पारेको विराटनगरस्थित कोसी अस्पतालमा कोभिड–१९ अस्पताल सञ्चालनमा छ । ५० शय्याको सो अस्पतालमा अहिले २९ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रदेश १ मा कोरोना संक्रमित हुनेको दर उच्च भएपछि तत्काल थप १ सय बेडको कोरोना विशेष अस्पताल बनाउने काम सुरु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनस्र्थापना केन्द्रलाई विशेष कोराना अस्पताल बनाउने तयारीका साथ काम अघि बढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer