२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

‘एकका लागि एक’ अभियान: बिर्तामोडमा वितरण सुरु


बिर्तामोड, बैशाख २४ । सहारा नेपालको अगुवाईमा सुरु भएको ‘एकका लागि एक’ अभियानले बिर्तामोड नगरपालिकामा खाद्य सामग्री वितरण सुरु गरेको छ ।

बैशाख १९ गते सहाराको केन्द्रीय कार्यालयमा औपचारिक उद्घाटन भएको अभियानले लक डाउनमा कुनै पनि विपन्न परिवार भोकै बस्नु नपरोस् भनेर सहयोग जुटाएर खाद्य सामग्री वितरण गरिरहेको छ । मंगलबार एक कार्याक्रमका बीच बिर्तामोड १ का विभिन्न टोलका ३० विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।

अभियानको प्रमुख साझेदार संस्था सहारा नेपाल साकोसका सहयोग समिति संयोजक रामप्रसाद रोक्काको अध्यक्षतामा वडा कार्यालयमा भएको ‘एकका लागि एक’ को प्याकेज हस्तान्तरण कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानका बारेमा प्रकाश पारेका थिए ।

सोही दिन नै हरेक क्षेत्रबाट पीडित बनेका ३० परिवारलाई उक्त राहत प्रदान गरिएको थियो । राहतमा २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २ लिटर तेल, हात धुने साबुन र नुहाउने साबुन रहेको छ । राहत प्रदानअघि वडा अध्यक्ष अग्निप्रसाद पाण्डे यस्तो असजिलो परिस्थितिमा वडा नम्बर १ मा आएर सेवाको भावना बढाइदिएको हुँदा सबैको मन, मनमा सहारा बस्न सकोस् भनी शुभकामना दिएका थिए ।

सहारा नेपालले ‘एकका लागि एक’ अभियानअन्तर्गत झापामा कम्तिमा २ हजार अतिविपन्न परिवारलाई राहत दिने योजना बनाएको छ । अभियानलाई झापाका १५ वटा सामाजिक संस्थाले साथ दिएका छन् । कार्यक्रमको संयोजन बिर्तामोड सेवा केन्द्रका प्रबन्धक घनश्याम रायले गरेका थिए ।

अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार (ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि), कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगरीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्ने लक्ष्य लिएको छ ।

Adv footer