२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

‘एकका लागि एक’ अभियान : भोलिबाट बिर्तामोडमा खाना वितरण हुने


बिर्तामोड, बैशाख २७ । ‘एकका लागि एक’ अभियानले भोलि आइतबारबाट झापाको बिर्तामोड चोकमा तयारी खाना वितरण गर्ने भएको छ ।

लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्दै आएको अभियानले अब तयारी खानाको प्याकेट वितरण गर्न लागेको खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव घिमिरेले जानकारी दिए ।

अभियानले यसअघि एक सातामा १ हजार विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिसकेको छ । अभियानले कम्तिमा २ हजार परिवारलाई खाद्यान्न वितरण गर्ने योजना बनाएको छ ।
‘कोभिड १९ को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने नाराका साथ सुरु भएको अभियानले बिर्तामोडको वान स्टप मलअगाडि अस्थायी टेन्ट बनाएर खाना बाँड्ने घिमिरेले बताए ।

पहिलो चरणमा खाद्य सामग्री वितरण गरेपछि दोस्रो चरणअन्तर्गत असक्त, सडकमै आश्रित, बिरामी कुरुवा, सडकमा अलपत्र नागरिकलाई खानाको प्रबन्ध गरिएको हो । अभियानले लक डाउन नखुलेसम्म हरेक दिन बिहान ९ देखि १२ बजेसम्म खाना वितरण गर्नेछ ।

घिमिरेका अनुसार दैनिक १ हजारजनालाई खाना खुवाउने लक्ष्य राखिएको छ । तर, त्यसमा राहात पाएकाबाहेक अत्यावश्यक हुने र खाना खान नपाइरहेका व्यक्तिलाई मात्र दिइनेछ । खानामा शाकाहारी बिरयानी रहेको छ । त्यसका लागि दैनिक ३५ हजार रुपैयाँ खर्च लाग्नेछ ।

अभियानले बिर्तामोडबाहेक कनकाईको कोटिहोममा रहेका असाहय र ज्येष्ठ नागरिकलाई पनि खानाको प्याकेट पुर्याउने भएको छ । त्यस्तै, आवश्यकता अनुसार जिल्लाका मुख्य सहरमा मोबाइल गाडीमार्फत खानाको प्याकेट वितरण गरिने घिमिरेले जानकारी दिए ।

अभियानले यसअघि झापाका बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी, कनकाई, दमक, भद्रपुर र मोरङको सुन्दर हरैँचा नगरपालिकाका विपन्न परिवारलाई खाद्य सामग्री दिएको थियो । अभियानले स्थानीय तहको समन्वयमा प्रतिपरिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री उपलब्ध गराएको थियो ।

शनिबारसम्म अभियानमा ३५ भन्दा बढी सामाजिक संस्था र ४०० जनाभन्दा बढी व्यक्ति जोडिएको अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीले बताए । हालसम्म संस्थागत र व्यक्तिगत रुपमा देश तथा विदेशबाट ३६ लाख २० हजार रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ ।

लामो समयसम्म भएको लक डाउनका कारण समस्यामा परेका अति विपन्न ज्यालादारी गरेर परिवारको पालनपोषण गर्ने परिवारलाई यो अभियानले खाद्यान्न वितरण गरिरहेको छ । अभियानलाई उत्सहाजनक सहयोग प्राप्त भइरहेकाले २ हजारभन्दा बढी परिवारलाई खाद्य सामग्री दिइने अभियानका सहसंयोजक विनोद बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer