२०८२ असार १८ बुधबार
Jhapa Today
Adv top

नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई भारतले कारबाही गर्ने


घेराबारीको झन्डुगाउँस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट नजिकै आक्रमणका विषयमा आइतबार बिहान दुवै देशका प्रतिनिधिबीच बैठक बस्दै ।

बिर्तामोड, जेठ ४ । झापा कचनकवल १ घेराबारस्थित झन्डुगाउँको सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीमाथि शनिबार साँझ आक्रमण गर्ने आफ्ना नागरिकको पहिचान गरी कारबाही गर्ने भारतीय पक्षले प्रतिबद्धता जनाएको छ ।

उक्त विषयमा आइतबार बिहान नेपाल–भारत सिमानाको दसगजामा दुवै देशका प्रतिनिधिबीच बैठक बसेको थियो । बैठकमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने आफ्ना नागरिकको पहिचान गरी कारबाही गर्ने भारतीय पक्षले प्रतिबद्धता जनाएको हो ।

घटनाप्रति भारतीय पक्षले क्षमायाचना समेत गरेको कचनकवलका अध्यक्ष अन्जरा आलमले बताए । आक्रमणकारीलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कमाण्डरले मौखिक प्रतिबद्धता जनाएका छन् ।

नेपाल–भारतको सीमाअन्तर्गत १२५/१० नम्बरको सहायक पिल्लरनजिक बसेको सशस्त्रको अस्थायी पोस्टमा भारतीय नागरिकले आक्रमण गरेका थिए । घरेलु हतियारसहित आएका भारतीयले सशस्त्रको पोस्टमै आएर आक्रमण गरेका थिए ।

उनीहरुले प्रहरी अस्थायी पोस्टको पाल च्यातिदिनुका साथै एउटा कुर्सी भाँचिदिएका छन् । पोस्टमा रहेको एउटा साइकल समेत उनीहरुले लुटेर लगेका छन् । नेपाली सुरक्षाकर्मी खाना खान गएको मौका छोपेर आएको समूहले पोस्टमा आक्रमण गरेको थियो ।

पोस्टमा सशस्त्रका पाँच जना जवानले सुरक्षा प्रदान गर्दै आएका छन् । पोस्ट भत्काउनुका साथै आफूहरुमाथि समेत आक्रमण गर्ने अवस्था बनेपछि सशस्त्रले फायर खोलेको थियो । एक राउन्ड हवाई फायर गरेपछि भारतीयहरु पछि हटेका थिए ।

यसअघि गत बैशाख २२ गते दिउँसो झापा गाउँपालिका ४ स्थित १३१/१ नम्बर पिल्लर नजिकको सशस्त्र प्रहरीको पोस्टमा पनि भारतीयहरुले आक्रमण प्रयास गरेका थिए । डेढ सयभन्दा बढीको संख्यामा भारतीयहरु घरेलु हतियारसहित दसगजासम्मै आएर नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, बैशाख दोस्रो साता कचनकवल गाउँपालिका–४ स्थित सीमाक्षेत्रमा पनि जबर्जस्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए । त्यस क्रममा भारतीयको हँसियाले लागेर एक प्रहरीलाई सामान्य चोटसमेत लागेको थियो ।

Adv footer