२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एकका लागि एक अभियानले दियो १०२० थान किट


बिर्तामोड, जेठ २१ । ‘एकका लागि एक’ अभियानले कोरोना भाइरस नियन्त्रणका लागि झापामा हालसम्म एक हजार २० थान किट प्रदान गरेको छ ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार जिल्ला प्रशासन कार्यालय झापालाई ६४० थान भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट प्रदान गरेको छ । अभियानले जेठ १२ गते ३४० थान र जेठ १९ गते ३०० थान भिटिएम किट प्रदान गरेको हो ।

त्यस्तै, अभियानले कचनकवल गाउँपालिकालाई २०० थान भिटिएम किट प्रदान गरेको किट हस्तान्तरण समितिका संयोजक मिजास पोखरेलले जानकारी दिए । कचनकवल प्रदेश १ कै सबैभन्दा बढी संक्रमित भएको पालिका हो । त्यहाँ १०० जना कोरोना संक्रमित छन् ।

अभियानले १८० थान ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किट पनि झापामा प्रदान गरेको छ । मेचीनगर नगरपालिकालाई १०० थान र जिल्ला प्रशासन कार्यालयलाई ८० थान आरडिटी प्रदान गरेको पोखरेलले बताए । कोरोना भाइरस परीक्षणको दायरा बढाउन अभियानले स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।

झापाको प्रमुख नाका काँकरभिट्टा हुँदै स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएकाले परीक्षणको दायरा पनि बढाउन किट प्रदान गरिएको हो । त्यस्तै, अभियानले एक हजार किट खरिद गरेर झापामा परीक्षणका लागि हस्तान्तरण गर्ने योजना बनाएको थियो ।

झापा दमक १० का दिनसन बोहोराले ५०० थान र झापा हल्दिबारी २ का यामकुमार सिटौलाले १०० थान भिटिएम किट खरिदका लागि अभियानलाई रकम उपलब्ध गराएका थिए । अभियानले किट प्रदान गर्ने योजना बनाएपछि उनीहरुले सहयोग गरेका हुन् ।

यसैबीच, अभियानको कोषमा ५५ लाख रुपैयाँ जम्मा भइसकेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । पहिलो चरणमा झन्डै दुई हजार विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको अभियानले नौ हजार मजदुरलाई तयारी खाना खुवाएको थियो । त्यस्तै, बिर्तामोडको एउटा होल्डिङ सेन्टरमा रहेका करिब दुई सयजनालाई बिहान, दिउँसो र बेलुका खानाखाजा खुवाउँदै आएको बस्नेतले बताए ।

त्यस्तै, अभियानले झापाका सात स्थानमा अस्थायी प्रहरी पोस्ट निर्माण गर्न लागेको सुरक्षा पोस्ट स्थापना उपसमितिका संयोजक मदनगोपाल सुब्बाले जानकारी दिए । कोरोना संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाको आग्रहमा अभियानले सीमावर्ती क्षेत्रमा ड्युटी गर्दै आएका सशस्त्र प्रहरीका लागि सुरक्षा पोस्ट बनाउन लागेको हो ।

सातवटा पोस्टमध्ये अभियानका सदस्य तथा निर्माण व्यवसायी केदार गिरीले आफ्नो निजी खर्चमा दुईवटा पोस्ट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । एउटा अस्थायी पोस्ट निर्माण गर्दा झन्डै डेढ लाख रुपैयाँ खर्च लाग्ने गिरीले जानकारी दिए ।

अभियानलाई देश तथा विदेशमा रहेका नेपालीले व्यक्तिगत र संस्थागत रुपले सहयोग गर्दै आएका छन् । सहारा नेपाल साकोसको मुख्य सहयोग रहेको अभियानमा झापाका १८ वटा साजाजिक संघसंस्थाको साथ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer