बिर्तामोड, साउन २५ । जापानको राजधानी टोकियोमा सम्पन्न ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा अमेरिकाले सर्वाधिक पदक जितेको छ ।
अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल हुँदै पदक तालिकाको शीर्ष स्थानमा रह्यो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जित्दै दोस्रो तथा आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक प्राप्त गर्दै तेस्रो भयो ।
पदक तालिकामा बेलायत २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २८ रजत र २३ कास्यसहित पाँचौँ, अस्टे«लिया १७ स्वर्ण, सात रजत र २२ कास्यका साथ छैटौँ, नेदरल्यान्डस् १० स्वर्ण, १२ रजत र १४ कास्यसहित सातौँ, फ्रान्स १० स्वर्ण, १२ रजत र ११ कास्यसहित आठौँ, जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यका साथ नवौँ तथा इटली १० स्वर्ण, १० रजत र २० कास्यपदकका साथ १०औँ स्थानमा रहे ।
टोकियो ओलम्पिकमा ९३ देश पदक जित्न सफल रहे । नेपालसहित ११२ देश पदक विहीन बन्न पुगे । टोकियो ओलम्पिकमा ६५ देशले मात्र स्वर्ण पदक चुम्न पाए ।
दक्षिण एसियाली मुलुकमध्ये भारतले एक स्वर्ण, दुई रजत तथा चारवटा कास्य पदक जित्यो । दक्षिण एसियाका अन्य कुनै पनि देशले पदक प्राप्त गर्न सकेनन् ।
टोकियो ओलम्पिकमा २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएका थिए । खेलाडीले कुल ३३ खेलमा ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरे । अरु ओलम्पिकजस्तै टोकियोमा पनि नेपाली खेलाडी सहभागितामै सीमित बने । पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाए । जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन भने सामान्य रह्यो ।
यही साउन ८ गतेदेखि सुरु भएको टोकियो ओलम्पिक १९ दिनसम्म सञ्चालन भएको थियो । सन् १९६४ मा पहिलोपटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि पुनः ओलम्पिक आयोजना गरेको हो ।
अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो ।
विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार/चार वर्षमा हुँदै आएकामा यस वर्ष पाँच वर्षमा आयोजना भएको हो । टोकियो ओलम्पिकमा कोरोनाका कारण मैदानमा दर्शकलाई अवलोकनको अनुमति दिइएको थिएन ।