२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल पहिलोपटक साफको फाइनलमा


बिर्तामोड, असोज २७ । माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएपछि नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको रोमाञ्चक खेलमा एक गोलको अग्रता उल्टाउँदै नेपालले बराबरी खेलेको हो । खेलको नवौँ मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान जमल भुयानको फ्रिकिकमा हेडमार्फत उनले उत्कृष्ट गोल गरेका थिए ।

तर, खेलको ८८ औँ मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट जोगाए । मोहमद साद उद्दीनले अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।

नेपालले ४ खेलमा ७ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० को हार बेहोरे पनि नेपालले अन्तिम खेलमा आफू अनुकूल बराबरीको नतिजा निकाल्दै फाइनलमा स्थान बनायो ।

नेपाल यसअघि ५ पटक सेमिफाइनलमा पुगेर फाइनल पुग्नबाट बञ्चित भएको थियो । पछिल्लोपटक सन् २०१८ मा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित हुँदै सेमिफाइनलमा बाहिरिएको थियो । त्यसअघि सन् २०१३ र २०११ मा अफगानिस्तानले नेपाललाई सेमिफाइनलमा हराएको थियो ।

यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer