बिर्तामोड, मंसिर १० । ललितपुरका छिमेकी दुई क्लब थ्री स्टार क्लब र सातदोबाटो युथ क्लबबीचको प्रतिस्पर्धासँगै सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरण शुक्रबारबाट सुरु हुँदैछ ।
दशरथ रंगशालामा खेल दिउँसो १ः०० बजे सुरु हुनेछ । आजै दिउँसो ४ः४५ बजे सुरु हुने अर्को खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
थ्री स्टारले जितका साथ लिगको सुरुवात गर्दा सातदोबाटोले भने फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै, संकटाले हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेको थियो ।
थ्री स्टारले पहिलो खेलमा च्यासललाई ३–० ले हराएको थियो । लिगको पहिलो चरणका ७ खेल सकिदा ४ टोलीले जित निकालेका छन् ।
दाबेदारका रुपमा हेरिएका लिगको तीनपटकको विजेता थ्री स्टार, कीर्तिमानी आठपटकको विजेता मनाङ मस्र्याङ्दी क्लब, साविक विजेता मछिन्द्र क्लबसँगै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले लिगमा विजयी सुरुवात गरेका थिए । ३ खेल बराबरीमा टुंगिएका थिए ।
फ्रेन्ड्स क्लब र नव प्रवेशी सातदोबाटो तथा संकटा क्लब र हिमालयन शेर्पाबाहेक दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले पनि १–१ को बराबरीबाट लिगको सुरुवात गरेका थिए ।
च्यासल युथ क्लब, नेपाल एपिएफ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिम (एनआरटी) ले भने हारबाट लिगको सुरुवात गरेका छन् । पहिलो चरणको खेलमा १६ गोल भएका छन् ।
सबैभन्दा फराकिलो अन्तरले थ्री स्टारले च्यासललाई ३–० ले हराएको छ । बिबिसीले एपिएफमाथि ३–२ को, मनाङले जाउलाखेलमाथि १–० को र मछिन्द्रले एनआरटीमाथि २–० को प्रतिस्पर्धात्मक जित निकालेको थियो ।
पहिलो चरणमा पाटन डर्वीमा च्यासल युथ क्लबलाई ३–० ले पराजित गरेको थ्री स्टार सोही जितको लयलाई कायम राख्दै लिगमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो ।
दोस्रो चरणको खेल तालिका
मंसिर १० गते सातदोबाटोविरुद्ध थ्री स्टार (१ः०० बजे)
संकटाविरुद्ध फ्रेन्ड्स क्लब (४ः४५ बजे)
मंसिर ११ गते च्यासलविरुद्ध एपिएफ (१ः०० बजे)
हिमालयन शेर्पाविरुद्ध मनाङ (४ः४५ बजे)
मंसिर १२ गते जावलाखेलविरुद्ध नेपाल पुलिस क्लब (४ः०० बजे)
मंसिर १३ गते ब्रिगेड ब्वाइजविरुद्ध न्यूरोड टिम (१ः०० बजे)
त्रिभुवन आर्मीविरुद्ध मछिन्द्र (४ः४५ बजे)
-हाम्रो खेलकुदबाट