बिर्तामोड, पुस १६ । विभागीय त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी बराबरी खेल्न बाध्य भयो ।
कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी र एपिएफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीका लागि जर्जप्रिन्स कार्कीले गोल गर्दा एपिएफका बिक्की तामाङले गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा नविन लामाको फ्रिकिकलाई गोलरक्षक विकेश कुथुले सहजै बचाए । पाँचौँ मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्स बाहिरको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामाले दोस्रो प्रयासमा नियन्त्रणामा लिँदा आर्मी अग्रता लिनबाट चुक्यो ।
नवौँ मिनेटमा कप्तान भरत खवासको पेनाल्टी बक्स बाहिरको प्रहारलाई गोलरक्षक युयाले पञ्च गर्दै बचाए । १३औँ मिनेटमा जगजित श्रेष्ठको क्रस पासमा जर्जप्रिन्स कार्कीले नियन्त्रणा लिँदै गरेको प्रहारलाई सविन थापाले क्लियर गर्दै एपिएफको संकट टारे । २०औँ मिनेटमा जगजित श्रेष्ठको कर्नरका जर्जप्रिन्स कार्कीको डाइभिङ हेडर दोस्रो बार च्याप्दै बाहिरिदा आर्मी अग्रता लिनबाट चुक्यो ।
३८औँ मिनेटमा आशिष लामाको वान भर्सेस वानको प्रहार गोलरक्षक विकेशलाई लाग्दै पोस्टतर्फ अघि बढ्दा युद्ध शाहीले बचाए । ५८औँ मिनेटमा नविन लामाको प्रहारलाई गोलरक्षक विकेशले पञ्च गर्दै बचाए । ६३औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । दिनेश हेन्जनको पासमा जर्ज प्रिन्सले ५ डिफेन्डरबीचबाट गरेको प्रहार डिफेन्डर राजन गुरुङलाई लाग्दै गोलमा परिणत हुँदा गोलरक्षक युयाले बचाउन सकेनन् ।
६६औँ मिनेटमा बिक्की तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । नविन लामाको प्रहारलाई गोलरक्षक विकेथले नियन्त्रणमा लिन नसकेको बललाई बिक्कीले जाली चुमाए । ८३औँ मिनेटमा विवेक बस्नेतको क्रसलाई गोलरक्षक युयाले नियन्त्रणमा लिन नसकेको बललाई जर्ज प्रिन्स कार्कीले दुई प्रयास गरे पनि सदुपयोग हुन नसक्दा आर्मी अग्रता लिनबाट चुक्यो ।
यो बराबरीले अंक तालिकामा कुनै फेरबदल भएन । आर्मी ७ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । समान ७ खेलबाट एपिएफ ६ अंक जोडेर ११औँ स्थानमा रहेको छ ।
आर्मीको यो पाँचौ बराबरी हो । यसअघि आर्मीले पुलिस, मछिन्द्र, सातदोबाटो र थ्री स्टारसँग बराबरी खेलेको थियो । आर्मीले च्यासल र ब्रिगेड ब्वाइजलाई मात्रै हराउन सकेको छ । एपिएफको यो तेस्रो बराबरी हो । यसअघि एपिएफले थ्री स्टार र एनआरटीसँग बराबरी खेलेको छ । लिगमा फ्रेन्ड्सलाई पराजित गर्दा बिबिसी, च्यासल र सातदोबाटोसँग हार बेहोरेको छ ।