२०८१ मंसिर १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसी हस्पिटलद्वारा खोरमा राखिएका बालकको उद्धार


बिर्तामोड, पुस २३ । बिर्तामोडको बिएन्डसी हस्पिटलले खोरमा राखिँदै आएका झापा अर्जुनधाराका एक बालकको उद्धार गरेको छ ।

निःशुल्क उपचार गर्न हस्पिटलले अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा बसन्तको उद्धार गरेको हो । उपचार अभावमा १० महिनादेखि खोरमा राखिएका बालकको आज (शुक्रबार) खोरैबाट हस्पिटलले उद्धार गरेको हो ।

जन्मदेखि नै बोली नआएका बालकलाई गएको चैतदेखि खोरमा राख्न थालिएको परिवारले जनाएको छ । खेती किसानी गर्ने दाहाल परिवारलाई काम गर्न असहज भएपछि बाध्य भएर खोरमा राख्न थालिएको उनकी आमा चम्पा दाहालले सुनाइन् ।

छोराको उपचारका लागि सकेसम्म खर्च गरे पनि स्वास्थ्यमा केही सुधार नआएको उनको भनाइ छ । उपचारका लागि डाक्टरदेखि धामी झाँक्रीसम्म लगाएको पनि उनले सुनाइन् । बिएन्डसीको तर्फबाट उद्धार गर्न पुगेको चिकित्सक र व्यवस्थापन टोली घरमा पुग्दा बालक खोरमै थिए ।

खोरमै पुगेका हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बालकको उपचार गरिदिने जिम्मा लिएका छन् । लामो समयदेखि बालक खोरमा राखिँदा पनि राजनीतिकर्मी, समाजसेवीले केही पहल नगरेको भन्दै प्रसाईंले रोष प्रकट गरे ।

उनले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको बिएन्डसीले उपचार गर्दै आएको बताउँदै त्यस्ता कोही व्यक्ति छन् भने खबर गर्न पनि गाउँलेलाई आग्रह गरे । ‘यो छोरा तपाईंको होइन, अब हाम्रो पनि छोरा हो, उपचार गरेर घर ल्याइदिन्छौँ‘, बालकको परिवारलाई उनले आश्वस्त पारेका छन् ।

उनले भने, ‘कोही पनि पैसा नभएर उपचार पाएका छैनन् भने हामीलाई खबर गर्नुहोला ।’ हस्पिटलले छोराको उद्धार गरिसकेपछि उनकी आमा चम्पाले आँसु झार्दै भनिन्, ‘ठुलो मान्छेले साथ दिएर, दबाइ औषधि गरेर फर्कियो भने जिन्दगी सुध्रिन्छ ।’

बिएन्डसीले राम्रो उपचार गर्ने गरेको सुनेको पनि रुँदै बताइन् । जन्मेको ३ दिनमै मुर्छा पर्न थालेको छोराले सानैदेखि दुःख व्यहोरेको सुनाइनसक्दा उनले आँसु झार्न थालिन् । खेतीको काम गर्नु कि नानीको हेरचाह ? समस्यामा पर्न थालेपछि मन मिचेर खोरमा राखेको उनले सुनाइन् ।

हस्पिटलका स्टाफहरुले छोरालाई एम्बुलेन्समा लैजाँदै गर्दा उनी घरको बलेसीबाट टोलाएर हेर्दै थिइन् । बुवा गुप्तबहादुर छोराको उपचारका लागि सँगै हस्पिटल गएका छन् ।

स्वास्थ्यसँगै शिक्षा क्षेत्रमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै यसअघि पनि उपचार अभावमा साङ्लामा बाँधिएका व्यक्तिलगायत धेरै विपन्नको बिएन्डसी हस्पिटलले निःशुल्क स्वास्थ्योपचार गरिसकेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।

स्थानीय सामाजिक अभियन्ता कमल पोखरेलले बालकको अवस्था देखेर सामाजिक सञ्जालमा छोटो भिडियो राखेपछि हस्पिटल सम्पर्कमा आएको हो । बालक एक्लै बस्ने, कसैसँग नबोल्ने, रिस उठ्दा आफैँले आफैँलाई कुट्ने, अनुहार कोतार्ने, भित्तामा टाउको ठोकाउने, घरदेखि बाहिर निस्केपछि फर्किएर नआउने, साथीभाइसँग नबस्नेलगायत आनीबानी रहेको बुवा गुप्तबहादुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer