बिर्तामोड, फागुन ४ । साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ ।
बुधबार दशरथ रंगशालामा भएको ११औँ चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १–० को नतिजामा पराजित गर्दै मछिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको हो ।
कोभिड १९ को महामारीका कारण २०७६ पछि पहिलोपटक आयोजना भएको जारी लिगमा ११औँ चरणसम्म अपराजित रहँदै मछिन्द्रले दुई खेल अगावै उपाधि निश्चित गर्न सफल भयो । दसौँ चरण सकिँदा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग ६ अंकको स्पष्ट अग्रता बनाएको मछिन्द्र कीर्तिमानी रूपमा दुई खेल अगावै च्याम्पियन बन्यो ।
नव प्रवेशी सातदोबाटो युथ क्लबमाथि संघर्षपूर्ण जित निकाल्ने क्रममा मछिन्द्र नुर्लान नोभ्रुजोभले दोस्रो हाफमा गरेको गोलमा निर्णायक बन्यो । उनले ५३औँ मिनेटमा गोल गरेका थिए ।
मछिन्द्रसँगको हारसँगै सातदोबाटो ११ खेलबाट १५ अंक जोडेर छैटौँ स्थानमा यथावत रहेको छ ।
जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक पुगेको छ । मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको छ । अब मछिन्द्रले १२औँ चरणमा थ्री स्टार र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग हार बेहोरे पनि दोस्रो स्थानको टोलीले भेट्नेछैन ।
छैटौँ चरणमा उपाधि दाबेदार मनाङलाई हराएपछि मछिन्द्रको उपाधि यात्रा थप सहज बनेको थियो । त्यसपछि मछिन्द्रले सातदोबाटोसहित लगातार छैटौँ जित दर्ता गरेको छ ।