बिर्तामोड, साउन ७ । नेपाल औषधि व्यवसायी महासंघ झापा र बिएन्डसी टिचिङ अस्पतालको प्राविधिक सहयोगमा बिर्तामोडको चैतुबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर–२ ले आयोजना गरेको एकदिने सो निःशुल्क स्वास्थ्य शिविरको नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईले उद्घाटन गरिन् ।
स्थानीय पञ्चरत्न माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै प्रसाईंले वडाबासीको स्वास्थ्य समस्या हल गर्न शिविर उपयोगी सावित हुने विश्वास व्यक्त गरेकी छन् ।
कार्यक्रममा नेकपा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरे, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवर, विएन्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी लगायतले बोलेका थिए ।
वडाध्यक्ष किशोर पौडेलका अनुसार शिविरमा पाँचजना विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए । औषधि व्यवसायी संघले झन्डै चार लाख रुपैयाँको औषधि सहयोग गरेको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीको समेत सहयोगमा आयोजना गरिएको शिविरमा बिरामीले नाक, कान तथा घाँटी, स्त्री तथा प्रसूति, बालरोग, हाडजोर्नी तथा नशा रोग र जनरल फिजिसियनको सेवा प्रदान गरिएको थियो ।
वडाबासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको हो । बिरामीलाई औषधि पनि निःशुल्क वितरण गरिएको छ ।
सञ्चारकर्मी सरोज पौडेलले सञ्चालन गरेको शिविर उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओलीले स्वागत मन्तव्य राखेका थिए ।