बिर्तामोड, साउन १३ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको टोलीले मोरङमा रहेको एक औषधि उद्योगको अवलोकन गरेको छ ।
संघका अध्यक्ष गौतम गुप्ताको नेतृत्वमा रहेको १२ सदस्यीय टोलीले मोरङको कटहरीमा रहेको एमटेक मेड प्रालिको उद्योगको स्थलगत अवलोकन गरेको हो ।
अवलोकनपछि औषधि उत्पादन हुने प्रक्रिया, प्याकेजिङ तथा कच्चा पदार्थको मिश्रण विधिबारे जानकारी पाएको संघका महासचिव जीवनकुमार खड्काले जानकारी दिए ।
१७ वर्षअघि स्थापना भएको एमटेक मेडले १५० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको उद्योगका प्रबन्ध निर्देशक मनिष अग्रवालले बताए । कम्पनीले २०० जनालाई रोजगारी दिँदै आएको छ ।
विश्व स्वास्थ्य संगठन र जेएनपीबाट प्रमाणित एमटेक १ नम्बर प्रदेशको नेतृत्वदायी औषधि उत्पादक कम्पनी हो । कम्पनीले केही दिनमै भेटनरी औषधि पनि उत्पादन सुरु गर्ने प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए ।
यसैबीच, संघको झापा, मोरङ र सुनसरीको कार्यसमितिको संयुक्त बैठक विराटनगरमा सम्पन्न भएको छ ।
संघको आसन्न जिल्ला अधिवेसनबारे बैठकमा छलफल भएको संघ झापाका कोषाध्यक्ष विवेक बजगाईंले जानकारी दिए ।
बैठकमा आर्थिक मन्दीले औषधि व्यवसायीलाई परेको असरबारे पनि छलफल गरिएको थियो ।
Comments are closed