२०८१ मंसिर १० सोमबार
Jhapa Today
Adv top
Adv below_nav

पाडाजुँगीको आदिवासी रंगशालालाई सरकारको १ करोड बजेट


बिर्तामोड, असार १ । नामको विवादका कारण निर्माण हुन नसकिरहेको झापा पाडाजुँगीको आदिवासी रंगशाला तथा स्मृति पार्कलाई सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

झापाको कमल गाउँपालिका ५ मा रहेको रंगशालाका लागि पटकपटक बजेट छुट्टिए पनि नामको विवादले गर्दा निर्माण हुन सकेको छैन ।

नामकरणका विषयलाई लिएर विवाद हुँदा निर्माण कार्य अलपत्र हुन पुगेको थियो । गत वर्ष प्रदेश सरकारबाट छुट्टिएको १ करोड बजेट समेत फ्रिज भएको थियो ।

दमकबाट दुई किलोमिटर पूर्व पूर्वपश्चिम राजमार्गसँग जोडिएको आदिवासी जनजातिहरुको चिहानस्थललाई नष्ट गरी सो स्थानमा रंगशाला निर्माण गर्ने योजना अघि सारिएको थियो ।

केपी शर्मा ओली सरकारको पालामा आदिवासी रंगशाला तथा स्मृति पार्कको सट्टा मदन भण्डारी स्मृति रंगशालाको नाममा बजेट विनियोजन गरिएपछि काम हुन सकेन ।

स्थानीयबासी तथा पार्क समितिका पदाधिकारीले गलत शीर्षकमा सरकारले बजेट छुट्याएको भन्दै काम अघि बढाएनन् ।

आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमसहितको बजेटमा रंगशालाको निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको हो ।

रंगशालाका महासचिव दिपेनवाला राईले रंगशाला समिति तथा गाउँपालिकाको पहलमा बजेट छुट्टिएको बताए । रंगशालाको डिपिआरसहित घेराबेरा लगायतका संरचना निर्माण गर्न बजेट विनियोजन भएको उनको भनाइ छ ।

यसअघि समेत रंगशालाको निर्माणमा संघीय सरकारबाट पटकपटक गरी ३ करोड ५० लाख रुपैयाँ बजेट छुट्टिए पनि आधा रकमको काम मात्र भएको छ ।

२०६७ सालदेखि त्यहाँका आदिवासी जनजातिका ७ सयभन्दा बढी चिहानहरु नष्ट गरी उनीहरुको स्मृतिमा आदिवासी रंगशाला निर्माण कार्य सुरु भएको थियो ।

रंगशालाका महासचिव राईका अनुसार संघीय सरकारको चालु वर्षको १० लाख रुपैयाँको बजेटबाट रंगशालाको पूर्वतर्फ रहेको दाहसंस्कार स्थललाई व्यवस्थित गर्नका लागि प्रारिम्भक चरणका घेराबेरा लगायतका संरचना निर्माणका काम भइरहेका छन् । त्यहाँ यसअघि समेत प्रदेशकै १० लाख बजेटबाट मलामीगृह तथा शौचालय समेत निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer