मेचीनगर, साउन १६ । झापा धुलाबारी मोडको पूर्व बस बिसौनीमा दुर्गन्ध फैलिएका कारण मानिसहरु धमाधम बिरामी पर्न थालेका छन् ।
बस बिसौनीकै छेउमा रहेका अग्ला रुखलाई बासस्थान बनाएका बकुल्ला प्रजातिका चराका कारण चोकमा दुर्गन्ध फैलिँदै आएको छ । सयौँको संख्यामा रहेका ती चराले दिसा गर्दा चोक दुर्गन्धित हुँदै आएको छ ।
बाटोमा हिँडिरहेका यात्रुहरुको शरीरमा पनि ती चराको दिसा पर्दै आएको छ । चराको दिसाका कारण आसपासमा दुर्गन्ध फैलिएको छ । जसका कारण धेरै समय त्यहीँ बस्नुपर्ने अटो तथा सिटी सफारी चालकहरु बिरामी पर्न थालेका छन् ।
तापक्रम अत्यधिक गर्मी भएकाले वरिपरिको वातावरण पनि दुर्गन्धित बन्दै गएको छ । आसपासमा पसलेहरु पनि दुर्गन्धले हैरान भएका छन् । चारचक्के ठेलामा खाजा बेच्ने र बस बिसौनीमा गाडी पर्खिनेहरु दुर्गन्धले पीडित हुँदै आएका छन् ।
अटो तथा सिटी सफारी चालक र चारचक्के ठेलामा खाजा बेच्नेहरुको दुर्गन्धका कारण स्वास्थ्यमा समस्या देखापर्न थालेको छ । स्टेसन यही हो, अरु ठाउँ बस्न मिलेन, यहाँ यस्तो दुर्गन्ध सहेर बसियो, जसका कारण सिकिस्तै भइयो, एक चालकले भने ।
धुलाबारी चोक आसपासमा आजभोलि स्थानीयहरु हिँड्न पनि डराउँछन् । हिँड्नै परे नाक, मुख छोपेर हिँड्छन् । अटोमा चढ्न आउनेले एकछिन पर्खनुपर्यो भने दुर्गन्धका कारण बस्न नसकेर फर्केर जाने गरेको चालकहरु बताउँछन् ।
नगरपालिका र वडा कार्यालयले चराले दिसा गरेर दुर्गन्ध बनाएको ठाउँमा दैनिक किटाणुहरु मार्ने औषधि छर्किदिए दुर्गन्ध कम भएर जनजीवन सहज हुने चालकहरुको आशा रहेको छ ।
नगरप्रमुख गोपाल बुढाथोकी र वडा नम्बर १० का वडा अध्यक्ष नारायण खनाललाई दुर्गन्धबारे जानकारी गराए पनि वास्ता नगरेका अटो रिक्सा चालक संघ धुलाबारीका अध्यक्ष दिपक अधिकारीले जानकारी दिए ।