२०८१ पुष ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको विषादी जाँच्ने प्रयोगशाला बन्द, परीक्षणबिनै तरकारी भान्सामा


बिर्तामोड, साउन १७ । बिर्तामोडमा रहेको तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने प्रयोगशाला पाँच दिनदेखि सञ्चालन नहुँदा परीक्षण नभई बिक्री भइरहेको छ ।

झापाको ठुलो कृषि उपज बजार स्थलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाई (प्रयोगशाला) पाँच दिनदेखि बन्द छ । प्रयोगशाला बन्द भएपछि उपभोक्ता जागरण अभियान झापाले अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ ।

अभियानले अनुगमन गर्दा साउन १२ गतेदेखि प्रयोगशाला बन्द रहेको, त्यहाँ कार्यरत संघीय सरकारका तर्फबाट खटिएका दुई कर्मचारी प्रयोगशालामा ताला लगाएर सम्पर्कविहीन रहेको, बिर्तामोड नगरपालिकाबाट खटिएका दुई कर्मचारी हाजिर गर्न नगरपालिका कार्यालयमा पुगेको र पाँच दिनदेखि कृषि थोक बजारमा विषादी अवशेष जाँच नगरी तरकारी तथा फलफूल बिक्री वितरण भइरहेको तथ्य फेला पारेको जनाएको छ ।

कृषि मन्त्रालयअन्तर्गत सञ्चालित उक्त विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईका कर्मचारीले आर्थिक अभाव देखाउँदै सेवा बन्द भएको जानकारी गराएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले बताए ।

प्रयोगशाला बन्द भएपछि त्यहाँबाट तरकारी तथा फलफूलको दिनहुँ हुँदै आएको विषादी परीक्षण कार्य ठप्प भएको छ । विषादी नजाँची बजारमा दैनिक उपभोग्य तरकारी तथा फलफूल बिक्रीवितरण भइरहेको हुँदा आम उपभोक्ताहरुलई सचेतता अपनाउन अभियानले अपिल गरेको छ ।

अभियानका अध्यक्ष मोहन काजीको नेतृत्वमा अभियानको टोलीले कृषि थोक बजारमा अनुगमन गर्दा नेपाल सरकारले स्थापना गरेको प्रयोगशाला बन्द रहेको तथ्य फेला पारेको थियो ।

अभियानको अनुगमन टोलीले बिर्तामोडका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेल र बिर्तामोड वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईंलाई भेटेर प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ ।

बिर्तामोडको कृषि थोक बजार झापाको सबैभन्दा ठुलो र नेपाल सरकारले मुलुकका ११ स्थानमा सञ्चालन गरिरहेको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो कृषि बजार हो ।

यहाँ भारतबाट आयातित तरकारी र फलफूल ल्याउने गरिएको छ भने पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटामा उत्पादित सागसब्जी र फलफूल कृषक र व्यापारीले सोझै ल्याउने गरेका छन् ।

विषादी अवशेष जाँच गरेर खानयोग्य ठहरिएपछि मात्र सागसब्जी र फलफूल बजारमा बिक्री वितरणका लागि लैजान अभियानले माग गरेको छ ।

अनुगमनमा संस्थाका अध्यक्ष मोहन काजी, उपाध्यक्ष निलकण्ठ तिवारी, सचिव विशाल थापा, सहसचिव अनिता दाहाल र कोषाध्यक्ष शेखर अधिकारी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer