२०८१ पुष २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा भदौ १ सम्म डेङ्गी संक्रमितको संख्या ११३८


बिर्तामोड, भदौ २ । झापामा डेङ्गी संक्रमितको संख्या तीव्र रुपमा बढ्ने क्रममा भदौ १ गतेसम्म एक हजार १३८ पुगेको छ । हालसम्म ५९८ जना पुरुष र ५४० जना महिला संक्रमित भएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका वरिष्ठ तथ्यांक अधिकृत चूडामणि लुइँटेलका अनुसार झापामा भदौ १ गतेसम्म तीन हजार ७३३ जनाले डेङ्गीको परीक्षण गराएका छन् । डेङ्गी संक्रमण भएर झापामा ३६ जना अस्पतालमा उपचाररत छन् ।

सबैभन्दा बढी संक्रमण दमकको अस्पतालमा परीक्षण गर्न आउनेमा देखिएको छ । त्यसपछि बिर्तामोडका अस्पतालमा सङ्क्रमितको संख्या बढी छ । भद्रपुरलगायत बुद्धशान्ति, मेचीनगरमा डेङ्गी संक्रमण देखिएको छ ।

ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा डेङ्गी बढी फैलिएको छ । गौरीगञ्ज, बाह्रदशी, हल्दिबारी र कचनकवलमा भने हालसम्म डेङ्गी संक्रमण देखिएको छैन ।

साउनयता तीव्र रुपमा फैलिरहेको डेङ्गी सङ्क्रमणबाट झापामा एकजना औषधि व्यवसायीसहित तीन जनाको मृत्यु भइसकेको छ । डेङ्गीको संक्रमण बढी देखिएको बिर्तामोडमा दुई र दमकमा एकजनाको मृत्यु भएको हो ।

साउनको पहिलो साता बिर्तामोड– ५ की ४४ वर्षिया मदिना खातुनको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको थियो । डेङ्गी पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको थियो ।

त्यस्तै, साउन १९ गते डेङ्गी सङ्क्रमणबाट बिर्तामोड ५ कै ४४ वर्षीय रविचन्द्र लावतीको मृत्यु भयो भने दमकमा पञ्चमुखी फर्मा सञ्चालन गर्दै आएका औषधि व्यवसायी ६८ वर्षीय ऋषिराज पराजुलीको मृत्यु भएको हो ।

तर, वरिष्ठ तथ्यांक अधिकृत लुइँटेलले अस्पतालले डेङ्गीकै कारण निधन भएको घोषणा नगरेका कारण झापामा निधन भएको भन्न नमिल्ने बताए । लावतीलगायत बिरामीको निधन ‘लस्ट अगेन्स्ट मेडिकल एड्भाइस’ (लामा) भएकाले औपचारिक रुपमा सरकारले तथ्यांक नराख्ने लुइँटेलले जानकारी दिए ।

डेङ्गी लाग्न नदिनको लागि लामखुट्टेको टोकाइबाट बच्न विज्ञहरुको आग्रह छ । सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

Comments are closed

Adv footer