मेचीनगर, भदौ ३ । मेचीनगरमा १६ शैय्याको नगरस्तरीय अस्पताल बन्ने भएको छ । एक कार्यक्रमका बीच आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अस्पताल भवनको शिलान्यास गरेका छन् ।
मेचीनगर १० स्थित धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बन्न लागेको अस्पताल चौबीसै घण्टा इमर्जेन्सी सेवासहितको हुने बताइएको छ । भवनको शिलान्यास गर्दै नगरप्रमुख बुढाथोकीले भवन निर्माण सम्पन्न भई अस्पताल सञ्चालनमा आउँदा नगरबासीलाई स्वास्थ्य सम्बन्धी उपचारमा थप सहज हुने बताए ।
एसियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा बन्ने भवन ६ महिनामा निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् ।
हाल धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रबाट चौबीसै घण्टा प्रसूति सेवा र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । अबको केही महिनापछि यस क्षेत्रबाट चौबीसै घण्टा इमर्जेन्सीसेवा सहित १५ शैय्याको अन्तरङ्ग सेवा सञ्चालन गर्न सकिने सापकोटाले जानकारी दिइन् ।
अस्पताल भवन शिलान्यास कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, ९ का वडाध्यक्ष कञ्चन तामाङ, कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, वरिष्ठ कार्यक्रम अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौला, इन्जिनियर रोशन रिमाल, मेचीनगर १० का वडा सदस्य सोम ओझा, विशाल कार्कीलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।