मेचीनगर, असोज ६ । डेंगीका बिरामीको संख्या बढेपछि झापाको मेचीनगरका निजी अस्पताल तथा क्लिनिकहरूले परीक्षणको मनपरी शुल्क लिने गरेको पाइएको छ ।
किटमार्फत डेंगीको परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले मनपरी शुल्क लिने गरेको गुनासो आएपछि मेचीनगर नगरपालिकाको नगरस्तरीय अनुगमन टोलीले छड्के अनुगमन गर्दा बढी शुल्क लिएको पाइएको हो ।
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा पनि निजी अस्पताल, क्लिनिकले मनपरी शुल्क लिँदै आएका छन् । जनस्वास्थ्य निरीक्षक रामप्रसाद अधिकारीका अनुसार कोशी प्रदेश प्रयोगशालाले डेंगीको परीक्षणका लागि ६ सय रुपैयाँ कायम गरेको भए पनि नगरका प्रयोगशालाहरुले जथाभावी रकम लिने गरेका प्रमाण फेला परेको छ ।
टोलीले धुलाबारी बजारका १० वटा पोलिक्लिनिक तथा निजी अस्पतालसहित औषधि पसलको अनुगमन गर्दा अधिकांशले प्रदेश प्रयोगशालाले तोकेको शुल्कभन्दा २ देखि ४ सय रुपैयाँसम्म बढी रकम लिने गरेको पाइएको थियो ।
मेचीनगरका प्रयोगशालाहरुलाई एकपटकलाई सचेत गराइएको अनुगमन टोली सदस्य एवम् मेचीनगर स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिइन् । व्यवसायीले उप्रान्त गल्ती नदोहोर्याउने र आजैबाट सुधार गरेर जाने प्रतिबद्घता व्यक्त गरेका छन् ।