दमक, असोज १२ । आज बिहान झापाको दमकमा ग्याङ फाइट हुँदा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार इलाम चुलाचुली गाउँपालिका वडा नम्बर ३ घर भएका २९ वर्षीय गोविन्द लिम्बूको हत्या भएको हो । ग्याङ फाइटमा दमक ७ बस्ने २५ वर्षीय सनम राईले लिम्बूको घाँटी र पाखुरामा छुरा प्रहार गरेका थिए ।
दमक नगरपालिका १ कुमालचोकमा रहेको रुवल माछा फ्राइमा आज बिहान ४ बजे घटना भएको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार दमक ७ हाटखोला र इलामस्थित चुलाचुलीका युवाहरुबीच ग्याङ फाइट परेको थियोे ।
राति अबेरसम्म मादकपदार्थ सेवन गरिरहेका सँगैका साथीहरूबीच विवाद हुँदा लिम्बूमाथि छुरा प्रहार भएको बुझिएको छ । अनुसन्धानका लागि छजनालाई पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।