बिर्तामोड, असोज २० । झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृह झापाको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको बिर्तामोडस्थित आफ्नै कार्यालयमा आज सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक गतिविधि समेटिएको प्रतिवेदन सहसचिव जोश्ना श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष स्वस्तिका आचार्यले प्रस्तुत गरेका थिए ।
संस्थाको विधान संशोधन मस्यौदा समितिले विधान संशोधनका लागि तयार पारेको विधानको मस्यौदा विधान संशोधन समितिका संयोजक तथा संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालले प्रस्तुत गरेकी थिइन् ।
साधारणसभाले प्रस्तुत संस्थागत, आर्थिक प्रतिवेदन र विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधानकोे मस्यौदा साधारणसभाले पास गरेको कार्यक्रम संयोजक दिपा पोखरेलले जानकारी दिइन् ।
संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षता र उपस्थित संस्थापकहरूको सामुहिक आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थापक अध्यक्ष दाहाल, निवर्तमान अध्यक्ष भीमा शिवाकोटी, संस्थापक सदस्यहरू भवानी क्षेत्री, इन्दु पूर्वेलीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव मायामितु न्यौपानेले गरेकी थिइन् ।