भद्रपुर, असोज २० । झापाको भद्रपुर–१० चन्द्रगढीमा मुख्य कार्यालय रहेको सम्योग समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा केशरकुमार बानियाँ चयन भएका छन् ।
संस्थाको आज भद्रपुरमा सम्पन्न १० औँ वार्षिक साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा उमेशकुमार यादव, सचिवमा खड्गप्रसाद तिवारी, सहसचिवमा महेन्द्र बानियाँ र कोषाध्यक्षमा यशोदा आचार्य पोखरेल चयन भएका छन् ।
पाँच पदाधिकारीसहित अन्य छजना सदस्यहरु सञ्चालक समितिमा सर्वसम्म्मत निर्वाचित भएका संस्थाका व्यवस्थापक खगेन्द्र बानियाँले जानकारी दिए ।
त्यस्तै, संस्थाको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति पनि सर्वसम्मत चयन भएको छ । लेखा सुपरीवेक्षक लक्ष्मीप्रसाद भण्डारी र सदस्यहरु कमला खतिवडा र मित्रप्रसाद भण्डारी रहेको समिति चयन भएको हो ।
संस्थाका अध्यक्ष विनोद चौहानको अध्यक्षता तथा भद्रपुर–७ का वडा अध्यक्ष अभिषेक ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष यशोदा पोखरेल आचार्यले स्वागत गरेकी थिइन् ।
साधारणसभामा अध्यक्ष चौहानले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुँजी ७४ लाख ९७ हजार ७ सय रुपैयाँ, निक्षेप संकलन ५ करोड ७ लाख ११ हजार १ सय ४ रुपैयाँ ९८ पैसा, ऋण लगानी ३ करोड ६ लाख ६८ हजार ९ सय ९८ रुपैयाँ ८० पैसा रहेको अध्यक्ष चौहानले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
१० वर्ष अघि ३३ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल २ हजार ९१९ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा लेखा समिति सदस्य मित्रप्रसाद भण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीतर्फ बिर्तामोड सेवा केन्द्रकी क्यासियर कल्पना बस्नेत, उत्कृष्ट बजार प्रतिनिधितर्फ हल्दिबारी सेवा केन्द्रकी पार्वती महतो, उत्कृष्ट व्यवस्थापकतर्फ मुख्य कार्यलय चन्द्रगढीका विमल अधिकारी र उत्कृष्ट सेवाकेन्द्र प्रमुखतर्फ शनिश्चरेका किशोर निरौलालाई सम्मान गरिएको थियो ।
त्यस्तै, तीनवटा सेवाकेन्द्र र मुख्य कार्यालय गरी चारवटा कार्यालयका ज्येष्ठ शेयर सदस्य, बाल बचतकर्ता, असल ऋणी र असल बचतकर्ताहरु छनोट गरी १६ जनलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अतिथिहरु मोहनप्रसाद घिमिरे, नरेन्द्र तिम्सिना, सञ्जीवकुमार शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक खगेन्द्र बानियाँले गरेका थिए ।