बिर्तामोड, असोज २९ । जिल्ला नापी कार्यालय झापाका एकजना सर्वेक्षक र बिचौलिया घुससहित पक्राउ गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार दिउँसो नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित पक्राउ गरेको हो । उनीहरूले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस मागेका थिए ।
भद्रपुर–७ स्थित बिचौलिया यादवको फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेकसहित जम्मा १ लाख २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी लगिएको जनाइएको छ । सर्वेक्षक ठाकुर लामो समयदेखि नापी कार्यालय झापामा कार्यरत थिए । सरुवा भए पनि उनी मिलाएर पुनः झापा आउने गरेको कर्मचारी स्रोतको दाबी छ ।