२०८१ पुष ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

धन्तेरसका दिन सुनचाँदी किने शुभ हुने विश्वास


बिर्तामोड, कात्तिक २३ । धन्तेरस कार्तिक कृष्ण त्रयोदशी तिथिमा पर्छ । यस दिनदेखि तिहार अर्थात यमपञ्चक सुरु हुन्छ । लक्ष्मीपूजाको २ दिनअघि वा काग तिहारको दिनमा धन्तेरस पर्छ ।

धन्तेरसका दिन भाँडाकुडाका साथै सुनचाँदीका सिक्का वा गरगहना किन्ने प्रचलन छ । धेरैले सुनका सिक्का अर्थात असर्फी किन्ने गर्छन् । असर्फी उच्च गुणस्तरको सुनबाट बनाइएको सिक्का हो । शुद्घ सुनलाई गालेर सिक्काको आकारमा असर्फी बनाइन्छ ।

धन्तेरसमा गहना भित्र्याउँदा घरमा लक्ष्मीको बास हुने विश्वास गरिन्छ । यस दिन क्षमतानुसार सुनका सिक्का (असर्फी), औँठी, बाला, कानमा लगाउने गहना किन्ने चलन छ । कतिपयले यस दिन पूजाको थाली, पञ्चपात्रो, कलशलगायतका सामान पनि खरिद गर्छन् । यस बेलामा ५, १०, ३० देखि १०० ग्रामसम्मका लक्ष्मीको छाप भएका चाँदीका सिक्का किन्ने चलन बढी छ ।

यी सामग्री धन्तेरसका दिन किन्ने र त्यसलाई घरको पूर्वउत्तर (ईशान कोणमा) लगी राखिन्छ । धन्तेरसको प्रायः २ दिनपछि हुने लक्ष्मी पूजाको बेलामा यी सामग्रीहरुको प्रयोग गर्ने प्रचलन छ । यी सामग्री राखेर पूजा गरेमा लक्ष्मी माता खुसी हुन्छिन् र हामीलाई धनधान्यले सम्पन्न गराउँछिन् भन्ने विश्वास छ ।

धन्तेरसका दिन गच्छे र रुचिअनुसार कमलको पुष्पासनमा बस्नुभएकी लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर घरमा भित्र्याउने गरिन्छ ।
धन्तेरसमा भाँडाकुँडा किन्ने हो भने तामा, स्टिल, पित्तलआदिको साथमा चाँदी पनि किन्नु शुभ मानिन्छ । यसो गरेमा कुवेरजीसमेत घरमा विराजमान भई धनधान्यले भरिपूर्ण हुनेछ ।

अझै सुन किन्नु लाभदायिक मानिन्छ । यस दिन किनेका सामग्री अन्यलाई दिनु उचित मानिँदैन । यस दिन कालो रंगको सामान झुक्किएर पनि नकिन्नु भनिन्छ । कालो रंगको सामान घरमा भित्र्याएमा अशुभ हुने लक्षणको संकेत मानिन्छ ।

कतिपयले यस दिन धनियाँ (सिङ्गो), कौडी र कमलगट्टा किनेर घरमा ल्याउँछन् । यसलाई लक्ष्मी पूजामा चढाउने र घरमा राख्नाले शुभ हुने विश्वास छ । यसबाट घरमा धनको कमि नहुने र घरपरिवारमा शान्ति मिल्ने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer