
बिर्तामोड, कात्तिक २४ । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सुरु गरिएको छ ।
हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बीमा र घर बीमाको थालनी गरिएको हो ।

शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्याएमा बीमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक लाख ५० हजार क्षतिपूर्ति पाउने छन् ।

प्रतिघरधुरी बीमा गराउन वार्षिक रूपमा ९५ मात्र बीमा शुल्क लागेको छ । सबै घरको बीमा शुल्क वडा कार्यालयसँग भएको सहमतिअनुरुप बर्दियाको उज्यालो नेपाल नामक गैरसरकारी संस्थाले तिरिदिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

भारतको आसामबाट हात्ती आउने नेपालको सीमावर्ती पहिलो क्षेत्र नै बाहुनडाँगी हो । विगतमा अलग्गै गाविस रहेको बाहुनडाँगी हाल मेचीनगरअन्तर्गत पर्छ । बाहुनडाँगीका चार वडामध्ये सबैभन्दा बढी पीडा खेपिरहेको वडा नम्बर ४ बाट बीमा सुरु गरिएको वडाध्यक्ष कार्कीले बताए ।

वडाका सबै परिवारलाई घर बिमामा समावेश हुन वडा कार्यालयले आह्वान गरेको थियो । तर वडाका कुल एक हजार ३०२ परिवारमध्ये ६५९ मात्र बीमामा समावेश हुन आएको वडाध्यक्ष कार्कीले जानकारी दिए । छुट भएका घरलाई पछि समावेश गर्ने उनले बताए ।

वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित २५ स्वयंसेवकको समेत जीवन बीमा गरिएको छ । ती स्वयंसेवकलाई गाउँमा आएको हात्ती धपाउन रेपिड रेस्पोन्स टिम (आरआरटी)को रूपमा तालिम दिएर खटाएको वडाध्यक्ष कार्कीले बताए ।
हात्ती धपाउने कार्य रातभर जाग्राम बसेर गर्नुपर्ने र कुनै पनि बेला आक्रमणमा परिने जोखिम भएकाले आरआरटीका युवाको पाँच लाख रुपैयाँको जीवन बीमा गरेको उनले जानकारी दिए ।
बाहुनडाँगीमा परिचालित आरआरटीमा नेपालका २५ र भारतका १५ युवा आबद्ध छन् । गत वर्षदेखि हात्ती नियन्त्रणमा युवाको उक्त समूहलाई परिचालन गर्न थालिएको हो।