
बिर्तामोड, मसिंर १ । तिहार अवधिभर झापामा आठवटा सडक दुर्घटना भएका छन् । दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
कात्तिक २५ गते काग तिहारका दिनदेखि कात्तिक २९ गते भाइटिकासम्म जिल्लाभर आठवटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
यस वर्षको तिहारमा २३७ वटा सवारी साधनमाथि कारबाही हुँदा १ लाख ७६ हजार ५०० रुपैयाँ राजश्व असुली भएको कार्यालयले जनाएको छ ।
अघिल्लो वर्षको तिहारको तुलनामा यस वर्ष ट्राफिक व्यवस्थापनमा सुधार देखिएको प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । उनले गत वर्षको तुलनामा यस वर्षको तिहारमा दुर्घटना र घाइते संख्या घटेको बताए । ट्राफिक व्यवस्थापनकै कारण कारबाहीसँगै राजश्वमा समेत निकै कमि आएको जानकारी दिए ।
अघिल्लो वर्षको तिहारमा १६ वटा दुर्घटना भएका थिए । जसमा दुईजनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए । त्यस्तै, ४८५ वटा सवारीसाधन कारबाहीमा पर्दा ३ लाख २९ हजार रुपैयाँ राजश्व असुली भएको थियो ।