बिर्तामोड, माघ ७ । झापाको बिर्तामोड युनाइटेड एफसी इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ठुलो टुँडिखेलमा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ३–० गोलले पराजित गर्दै बिर्तामोडले सेमिफाइनलमा स्थान बनाएको हो ।
बिर्तामोडको जितमा हिसुब थपलियाले २ र प्रशान्त लक्समले एक गोल गरेका थिए । अफ्रिकन खेलाडीसहित मैदान उत्रिएको सुनसरीको टोलीलाई स्तब्ध पार्न बिर्तामोडका हिसुब थपलियाले खेलको ३५औँ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । खेलको ५१औँ मिनेटमा फेरि हिसुब थपलियाले नै आकर्षक गोल गरेर बिर्तामोडको अग्रता दोब्बर बनाएका हुन् । ८६औँ मिनेटमा प्रशान्त लक्समले थप गोल गरेर टोलीको जित सुनिश्चित गरे ।
खेलको प्लेयर अफ दि म्याच बिर्तामोडका हिसुब थपलिया भए । उनलाई समर्पित सेक्युरिटीका प्रमुख विजय बस्नेतले नगद पाँच हजारसहित ट्रफी प्रदान गरे ।
रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा भोलि (सोमबार) काठमाडौँको न्यु रोड टिम (एनआरटी) ले सर्लाहीको बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
गोल्डकपको विजेता टोलीले नगद ५ लाखसहित ट्रफी पाउनेछ ।