बिर्तामोड, माघ १८ । क्यान्सर रोगविरुद्ध सचेतना जनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा साइकल यात्रा हुने भएको छ ।
साइकल यात्रामार्फत क्यान्सरको जोखिम घटाउने तथा मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन साइकल यात्रा गर्न प्रोत्सहान गर्न कार्यक्रम आयोजना गरिएको हो ।
‘हेरचाह अन्तर बन्द गर्न सवारी गरौँ’ भन्ने नाराका साथ साइकल यात्रा आयोजनाको तयारी गरिएको यात्रा व्यवस्थापन गरिरहेका प्याक एन्ड प्याडलका सञ्चालक आकाश श्रेष्ठले जानकारी दिए ।
यही फेब्रुअरी ४ तारिख विश्व क्यान्सर दिवसका दिन बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट सुरु हुने यात्रा मातामन्दिर शनिश्चरे हुँदै चारपाने भएर पुनः हस्पिटलमै आएर टुंगिनेछ ।
पूर्वाञ्चल क्यान्सर हस्पिटल, नेपाल क्यान्सर फाउन्डेसन, रोट्र्याक्ट क्लब अफ बिर्तामोड मिड टाउन र प्याक एन्ड प्याडलसँगको सहकार्यमा १८ किलोमिटर साइकल यात्रा हुन लागेको हो ।