२०८३ बैशाख ८ मंगलबार
Jhapa Today
Adv top

माइग्रेन र डिप्रेसनबिच के सम्बन्ध छ ? डिप्रेसन भएका व्यक्तिलाई माइग्रेन हुने सम्भावना कति ?


माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो । जुन लामो समयसम्म चलिरहन सक्छ । त्यस्तै डिप्रेसन पनि एक मानसिक विकार हो । जसले व्यक्तिको दैनिक जीवनमा नकारात्मक असर पार्दछ।। जसले तपाईँको सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ । डिप्रेसन वा उदासीनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । कुनै विशेष कारणले मन दुःखी हुनु र त्यही दुःखको अवस्था लामो समयसम्म रहिरह्यो भने त्यसलाई डिप्रेसन भन्ने गरिन्छ ।

बिर्तामोड, बैशाख ८ । विश्वव्यापी रूपमा मानसिक स्वास्थ्य समस्याहरू तीव्र गतिमा बढिरहेका बेला पछिल्लो समय धेरै युवाहरू र केही बालबालिकाहरू पनि यसको सिकार भइरहेका छन्। स्वास्थ्य विज्ञहरूका अनुसार सम्पूर्ण शरीरलाई स्वस्थ राख्न मानसिक स्वास्थ्यको ख्याल राख्नु आवश्यक रहेको बत्ताउँछन् । किनकि मानसिक र शारीरिक स्वास्थ्य एक अर्काको पूरक हुन्, अर्थात् एउटामा भएको समस्याले अर्कोमा असर पार्न सक्छ।

डिप्रेसनको अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले डिप्रेसनलाई मानसिक स्वास्थ्यलाई असर गर्ने समस्या मात्र मान्न नहुने बत्ताउँछन् । यसमा विभिन्न प्रकारका शारीरिक साइड इफेक्टहरूको जोखिम पनि हुन सक्छ। यदि तपाईँ डिप्रेसनबाट पीडित हुनुहुन्छ भने, तपाईँलाई माइग्रेन, मुटु रोग, रक्तचाप र कमजोर रोग प्रतिरोधात्मक क्षमता जस्ता समस्याहरू पनि हुन सक्छन्। डिप्रेसनका लक्षण जस्तैस् यदि कसैलाई १५ दिनभन्दा बढी समयदेखि निद्रा लागेको छैन, जाँगर लाग्दैन, खान–बस्न वा अन्य केही कुरामा मन जाँदैन, निराशा बढ्दै जान्छ, आत्महत्या गर्न मन लाग्छ भने यो मनोरोग हुनसक्ने चिकित्सकहरूले बताउने गरेका छन् । यसको असरले मन अशान्त बनाउनुका साथै टाउको दुखाई पनि हुन सक्छ । तर माइग्रेनले टाउकाको कुनै एक भागमा मात्र दुख्न सक्छ, कुनै–कुनै अवस्थामा दुवै भागमा पनि असर गर्न सक्छ। टाउको अत्यधिक दुख्ने, नसा चलेकै देखिने गरी बुरुकबुरुक दुख्ने, आँखा वरिपरि र घाँटीतिर दुखाइ हुने जस्ता माइग्रेनका लक्षणहरू हुन सक्छन् ।

हुन त माइग्रेन र डिप्रेसन दुई फरक रोग हुन् तर यी दुई बिच सम्बन्ध छ। विज्ञहरूका अनुसार माइग्रेन र डिप्रेसन, दुवै यस्ता रोग हुन् जसमा व्यक्ति मानसिक रूपमा प्रभावित हुने गर्दछन् । यस अवस्थामा, मानिसहरूले मस्तिष्कसँग सम्बन्धित लक्षणहरू अनुभव गर्छन्। यद्यपि, माइग्रेनमा, गम्भीर टाउको दुखाइसँगै, शरीरमा धेरै प्रकारका लक्षणहरू देख्न सकिन्छ जुन मस्तिष्कको असामान्य गतिविधिहरूको कारणले महसुस गर्न सकिन्छ। तर, यदि हामी डिप्रेसनको बारेमा कुरा गर्छौँ भने, यो एक मानसिक रोग हो जसमा व्यक्तिको महसुस गर्ने, सोच्ने र काम गर्ने तरिका प्रभावित हुन सक्छ।

यदि तपाईँलाई माइग्रेन सामान्य टाउको दुखाइको समस्या हो जस्तो लाग्छ भने सावधान रहनुहोस्। अनुसन्धानकर्ताहरूले पत्ता लगाए अनुसार माइग्रेन एक मनोवैज्ञानिक विकार हुन सक्छ। मनोवैज्ञानिक विकार भन्नाले मानसिक स्वास्थ्य समस्याहरूलाई जनाउँछ जसले शारीरिक स्वास्थ्यलाई असर गर्न सक्छ वा शारीरिक स्वास्थ्य समस्याहरूसँग मिल्दोजुल्दो लक्षणहरू हुन सक्छ।

एउटा अध्ययनले डिप्रेसन भएका व्यक्तिहरूलाई माइग्रेन हुने सम्भावना तीन गुणा बढी हुने देखाएको छ भने माइग्रेन भएकाहरूलाई डिप्रेसन हुने सम्भावना पाँच गुणा बढी हुने देखाएको छ।

माइग्रेनको कारणले कसरी डिप्रेसन हुन सक्छ ?
माइग्रेनले डिप्रेसन निम्त्याउने सम्भावना बढी हुन सक्छ किनभने यी दुई बिच सामान्य आनुवंशिक पूर्वस्थितिहरू छन्। तनाव र चिन्ताले डिप्रेसन र माइग्रेन दुवै निम्त्याउन सक्छ। अझ अनिद्रा वा स्लिप एपनिया जस्ता निद्रा गडबडीहरूले दुवै अवस्थाहरूलाई ट्रिगर गर्न सक्छन्।

के छन् रोकथामका उपाय ?

यी दुवै अवस्थामा बिरामी स्वयम् सचेत भएर व्यवस्थापन गर्न सक्नुपर्छ किनकि यस्तो अवस्थामा तनाव व्यवस्थापन गर्न निकै गाह्रो हुन्छ। त्यसैले,आफ्नो जीवनशैलीमा ध्यान दिनुका साथै योग वा गहिरो श्वासप्रश्वास अभ्यास जस्ता तनाव कम गर्ने गतिविधिहरू समावेश गर्नुपर्छ । शान्त तथा एकान्त वातावरणमा आराम गर्ने,टाउको दुख्न थाल्नासाथ सुत्ने प्रयास गर्ने।

प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ भने यस्ता समस्या भएका व्यत्तिहरुले मानसिक तनाव बढाउने गतिविधिहरूबाट टाढा रहनु उचित हुन्छ साथै लामो समयसम्म मोबाइल वा टिभी वा आँखालाई असर पुर्याउने खालका डिजिटल प्रविधिहरू नहेर्ने, अत्यधिक चिसोजन्य खानेकुरा र पुरानो तथा प्रोसेस्ड गरेका खाद्य पदार्थ कम खाने, धुम्रपान तथा मद्यपान छोड्नु पर्दछ । त्यसको अलावा नियमित शारीरिक गतिविधिले डिप्रेसन र माइग्रेन दुवैका लक्षणहरू कम गर्न मद्दत गर्न सक्छ।यद्यपि, विभिन्न उपचार विधिहरू र जीवनशैली परिवर्तनहरू मार्फत माइग्रेनको टाउको दुखाइ को तीव्रता कम गर्न सकिन्छ। माइग्रेनको उपचारमा औषधि, घरेलु उपचार र जीवनशैली परिवर्तन समावेश छन्।

माइग्रेनलाई औषधि, जीवनशैली परिवर्तन र घरेलु उपचार सहितको समग्र दृष्टिकोणबाट व्यवस्थापन गर्न सकिन्छ। माइग्रेन र डिप्रेसनबाट बच्नको लागि तपाईँले आफ्नो निद्रा सन्तुलित गर्नुपर्छ र आफूलाई आराम गर्नुपर्छ। साथै आफ्नो आहारमा फलफूल, तरकारी, सम्पूर्ण अन्न, र धेर प्रोटिन युक्त खानेकुराहरू समावेश गर्न सक्नुहुने छ । यति गर्दा पनि समस्या कम नभएमा डाक्टरको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।

माइग्रेन वा डिप्रेसनलाई ख्याल ख्याल सोच्दा अझ खराब बनाउन सक्ने भएकाले तपाईँ यी परिस्थितिहरूबाट बच्न तपाईले डाक्टरसँग परामर्श गर्न आवश्यक छ । जसका लागी तपाईले माइग्रेन दुखाइ र डिप्रेसन दुवैका लक्षणहरू पहिचान गरेर यस रोगबाट आफूलाई बचाउनु नै उत्तम हुनेछ । किनकि समयसँगै यी दुवै रोगले गम्भीर रूप लिन सक्छन्। त्यसैले समयमै डाक्टरसँग परामर्श लिनुहोस्। –एजेन्सी

Adv footer