२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

बिर्तामोड खानेपानीको आफ्नै मोबाइल एप्स, संस्थाको सम्पूर्ण विवरण वेभमा


बिर्तामेड, बैशाख १७ । नेपालकै उत्कृष्ट खानेपानी संस्था बन्न सफल बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले प्रविधि र सूचना प्रणालीलाई विस्तार गरेको छ ।

संस्थाले आज एक कार्यक्रमका बीच वेभमा आधारित भौगोलिक सूचना प्रणाली तथा समपत्ति व्यवस्थापन सुपरीवेक्षण प्रणाली सुरु गरेको छ । दियालो टेक्नोलोजी प्रालिले तयार गरेको सो सफ्टवेयर कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

अब बिर्तामोड खानेपानीको छुट्टै मोबाइल एप्लिकेसन भएको छ । सो एप्समार्फत डिजिटल नक्साबारे सम्पूर्ण जानकारी, नेभिगेसन एप्सका कारण मिटर रिडर, प्लम्बरसहित ग्राहकको घर पत्ता लगाउनेदेखि सम्पूर्ण निरीक्षण गर्न सकिने संस्थाका अध्यक्ष मेघराज बास्तोलाले जानकारी दिए ।

त्यस्तै, संस्थाको सम्पत्ति विवरण, रिपोर्टिङ, सुपरीवेक्षण, मूल्यांकन, पानीको महशुल निर्धारण, भविष्यको योजना, गुनासो र बक्यौता व्यवस्थापन लगायत सम्पूर्ण जानकारी एप्समै उपलब्ध हुने संस्थाका व्यवस्थापक खड्ग गिरीले जानकारी दिए ।

दियालोका प्रमुख बजार अधिकृत रोशन गौतमका अनुसार प्रणालीको प्रयोगले पाइपलाइन, भल्भ, च्याम्बर, ग्राहकको धारासहित पानी वितरण पूर्वाधारको सही तथ्यांक दिन्छ ।

संस्थाका अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्ले, इन्जिनियर रोजन जोशी तथा बिर्तामोड, काँकरभिट्टा, चारआली लगायतका क्षेत्रका खानेपानी समितिका पदाधिकारीको उपस्थिति रहेको सचिव पारसमणि मैनालीले जानकारी दिए ।

Adv footer