बिर्तामोड, बैशाख २५ । नेपालकै प्रतिष्ठित फुटबल एकाडेमी पोखराको सहारा फुटबल एकाडेमीमा छनोट भएका झापा अर्जुनधाराका दुईजना विद्याथीलाई विदाइ गरिएको छ ।
हस्दा र मुर्मूलाई पाँच वर्षका लागि सहारा फुटबल एकाडेमीले छनोट गरेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिए ।
अर्जुनधारा-५ का मिसन हस्दा र अर्जुनधारा-११ का मिलन मुर्मू एकाडेमीमा छनोट भएपछि आज उनीहरुको विदाइ गरिएको हो ।
झापा बिर्तामोड-२ को एकता स्पोर्टिङ क्लबमा प्रशिक्षण लिँदै आएका मिसन हस्दा एन्फा अन्डर १३ मा छनोट भए पनि उनलाई सहारामा पठाइएको क्लबका अध्यक्ष किरण पौडेलले बताए ।
बिर्तामोड-२ को मोहनमाया माविमा कक्षा-५ मा अध्ययनरत हस्दा बुबा छैनन् । महारानीगञ्ज माविमा पढ्दै आएका मुर्मूका आमाबुवा छैनन् । लोपोन्मुख जाति सन्थालको सूचीमा रहेका उनीहरु विपन्न परिवारका सदस्य हुन् ।
मामाका अनुसार एकाडेमीले फुटबलमा सम्भावना बोकेका आर्थिक अवस्था न्यून भएको परिवारबाट बाल अवस्थामा नै छनोट गरी खेलाडीको जिम्मा लिने गरेको छ ।
सहारा फुटबल एकाडेमीका लागि प्रस्थान गरेका दुवै विद्यार्थीको स्वास्थ्य परीक्षणमा सफलता मिलेपछि खान, बस्न, अध्ययन र फुटबल खेल्नका लागि वातावरण तयार हुने बताइएको छ ।
आज उनीहरु पोखरा प्रस्थान गर्नुअघि एकता स्पोर्टिङ क्लब र झापा जिल्ला फुटबल संघले विदाइ गरेको हो ।
विदाइका क्रममा झापा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भण्डारीले ट्र्याक सुट, झापा गोल्डकपले यातायात खर्चबापत नगद १० हजार, एकता स्पोर्टिङ क्लबले ट्र्याक सुट, बिर्तामोड २ र अर्जुनधारा ५ वडा कार्यालयले फुटबल बुट, संघका कोषाध्यक्ष भुपेन लिम्बू र सदस्य टेकराज तिलिङ ले २–२ जोर बुट, उपाध्यक्ष मनेष दाहाल र सदस्य अमिर श्रेष्ठले ब्याग तथा बिर्तामोडको जोया स्पोर्टसले खेल सामग्री उपलब्ध गराएका थिए ।
यसैबीच, हस्दालाई अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को वडा खेलकुद विकास समितिले पनि विदाइ गरेको छ ।
वडा खेलकुद विकास समिति अध्यक्ष बाबा डिआर थारुका अनुसार हस्दालाई वडा अध्यक्ष गीताराज खड्काले बुट प्रदान गरे ।
चैत २९ र ३० गते भएको छनोटमा झापाबाट ३२ जना खेलाडी छनोट भएका थिए । अखिल नेपाल फुटबल संघको कार्यक्रमअनुसार अन्तिम चरणको छनोट कार्यक्रम बैशाख ८ गते भएको थियो ।