बिर्तामोड, बैशाख ३० । झापामा बस्दै आएका इलामेलीहरुको साझा संस्था इलाम-झापा मैत्री समाजले स्थापना गरेको अक्षय कोषमा शिक्षासेवी तथा समाजसेवी जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
सामाजिक क्षेत्रमा क्रियाशील इलाम-झापा मैत्री समाजलाई ढुंगाना दम्पत्तिले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । ढुंगाना परिवारले समाजकी अध्यक्ष तिलोत्तमा खत्रीलाई चेक हस्तान्तरण गरेका थिए ।
परोपकारी काम गर्ने उद्देश्यले समाजले स्थापना गरेको अक्षय कोषमा हालसम्म ७ लाख रुपैयाँ जम्मा भइसकेको अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन् ।
संस्थाको भवन निर्माणका लागि समाजसेवी तथा युवा व्यवसायी इन्जिनियर महेन्द्र थापाले १० धुर जग्गा उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।
संस्थामा हालसम्म २५० भन्दा बढी आजीवन सदस्य आबद्ध भइसकेको महासचिव दिनेश भट्टराईले जानकारी दिए ।