मेचीनगर, जेठ २ । झापाको सीमावर्ती सहरमा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ ।
आज मेचीनगरस्थित काँकरभिट्टा कर्भड हलमा आयोजित एक कार्यक्रमका बीच स्थानीय व्यवसायी रोहित बुढाथोकीको नेतृत्वमा उम्मेदवार सार्वजनिक गरिएको हो ।
प्यानलका उम्मेदवारहरुमा उपाध्यक्षमा राजु दाहाल, सचिवमा विशाल तामाङ र कोषाध्यक्षमा विमला देवकोटा रहेका छन् ।
त्यस्तै, सदस्य पदका उम्मेदवारहरुमा सीता कार्की, पवित्रा तिवारी, पूर्ण योङहाङ लिम्बू, केदारजंग भट्टराई, इन्द्र प्रधान रहेका छन् ।
लेखा समिति संयोजकमा किशोर भण्डारी र सदस्यमा विकास राउतले उम्मेदवारी दिएका छन् । एकजना सदस्य पछि घोषणा गरिने जनाइएको छ ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा करिब ८ हजार उपभोक्ता रहेका छन् । अघिल्लो निर्वाचनमा ५ हजार २७८ मतदाता रहे पनि ३ हजार ९५७ ले मात्र मतदान गरेका थिए ।
संस्थाले जेठ ६ गतेभित्र नयाँ धारा जडान गर्ने, नामसारी गर्ने र मतदाता परिचयपत्र बनाउने उपभोक्तालाई मात्र निर्वाचनमा सहभागी गराउने जनाएको छ । संस्थाको २८ औँ साधारणसभाले यही जेठ २६ गतेका लागि निर्वाचन मिति घोषणा गरेको थियो ।