२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा लिगमा शनिश्चरेको उजुरी, काँकरभिट्टालाई खेल मिलेमतोको आरोप


बिर्तामेड, जेठ ३ । अर्जुनधाराको नमुना खेलमैदानमा जारी झापा जिल्ला ए डिभिजन लिगमा बुधबार भएको खेलमा असन्तुष्टि जनाउँदै शनिश्चरे एफसीले उजुरी हालेको छ ।

समूह ‘ख’ अन्तर्गत काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र सैनिक युथ क्लबबीच अन्तिम खेल हिजो भएको थियो । दुवै टिम जित निकाल्दै समूह विजेता बन्ने होडमा थिए ।

काँकरभिट्टा पहिलो हाफमै १–० गोलले पछि परेको थियो । सैनिकको जित निस्किँदै गर्दा शनिश्चरेका समर्थक उत्साहित बन्दै गएका थिए ।

सैनिकले थोरै गोलअन्तरमा जित निकालेको खण्डमा शनिश्चरे समूह विजेता बन्ने पक्का थियो । तर, दोस्रो हाफमा नसोचेको परिणाम आयो ।

६-० गोलअन्तरमा सैनिकले जित दर्ता गर्दै समूह विजेता बन्यो । साविक विजेता शनिश्चरेका समर्थक स्तब्ध बने । ‘हेड टु हेड’का आधारमा सैनिक समूह विजेता बन्दै फाइनलमा प्रवेश गर्यो ।

शनिश्चरे र सैनिक समान ३–३ खेल खेलेर समान ६–६ अंक बटुलेका टोली हुन् । काँकरभिट्टाले २ खेलमै ६ अंक जोडिसकेको थियो । तेस्रो खेल गुमाएपछि गोल संख्याको आधारमा सैनिक समूह विजेता बनेको छ ।

तर, काँकरभिट्टाले सैनिकलाई निस्फिक्री गोल गर्न सघाउ पुर्याएको शनिश्चरेको आरोप छ । काँकरभिट्टाका अफिसियलहरुले खेलाडी बोलाएर गोल छाड्न निर्देशन दिएको शनिश्चरेका अफिसियलहरुको भनाइ छ ।

खेलाडी घाइते नभई गोलरक्षक, रक्षकहरुलाई परिवर्तन गराएको उनीहरुको आरोप छ । सैनिकलाई समूह विजेता बन्न कम्तिमा ६ गोल गर्न जरुरी थियो ।

यदि ५ गोलअन्तरमा सैनिकको जित निस्केको खण्डमा शनिश्चरे समूह विजेता बन्ने निश्चित थियो । पहिलो हाफमै काँकरभिट्टा पछि परेपछि सैनिक हाबी भएको थियो ।

काँकरभिट्टाले जित वा बराबरीको नतिजा निकालेको भए सोझै समूह विजेता बन्ने थियो । काँकरभिट्टा आफू समूह विजेता बन्न नसक्ने भएपछि शनिश्चरेलाई पनि शीर्ष स्थानमा उक्लिन रोक्नका लागि सैनिकलाई निर्विरोध बनाउन जिताएको शनिश्चरेको आरोप छ ।

सैनिकले ६-० गोलले काँकरभिट्टालाई पराजित गरेसँगै सैनिक फाइनलमा पुगेको छ । समान खेल खेलेर समान अंक जोडेको शनिश्चरेको गोल गरेको संख्या ९ रहेको छ भने सैनिकको ११ गोल रहेको छ ।

खेल सकिएलगत्तै शनिश्चरेले लिगको नियमनकारी निकाय झापा जिल्ला फुटबल संघलाई खेल भावना र नियमविपरीत काँकरभिट्टाका अफिसियलबाट गरिएको गतिविधिविरुद्ध उजुरी हालेको छ ।

क्लबका सचिव हरि गुरुङले गरेको उजुरीमा सैनिक र काँकरभिट्टाबीचको खेल मिलेमतोमा खेलेको हुँदा आवश्यक छानबिन गरी कारबाही गर्न उल्लेख छ । शनिश्चरेले काँकरभिट्टा क्लब र अफिसियललाई कारबाही गर्न उजुरीमा अनुरोध गरेको छ ।

यसैबीच, शनिश्चरे एफसीको उजुरी परेको संघले जनाएको छ । उजुरीमाथि छलफल गरी केही दिनमा निर्णय लिइने संघका महासचिव शेरबहादुर बस्नेतले बताए ।

क्लबमाथि उजुरी परेको, शनिश्चरे एफसीले लगाएको आरोपका विषयमा समाचार तयार पारूञ्जेलसम्म काँकरभिट्टाले कुनै प्रतिक्रिया जनाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer