मेचीनगर, जेठ ७ । मेचीनगर नगरपालिकाको गौरवको रुपमा दुईवटा सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
नगरले सहिद वीरेन मार्ग (धुलाबारी बजार सिरानदेखि थोप्ले विरानसम्म) र सहिद विश्वनाथ मार्ग (काँकरभिट्टाको बर्मेली टोलदेखि बाहुनडाँगीसम्म) ड्रेन, सडकबत्ती, हरियाली, महिलामैत्री, अपाङ्गमैत्री र पैदलमार्गसहितको सुविधासम्पन्न कालोपत्रे गर्ने भएको हो ।
विश्व बैंकको लगानीमा बन्ने आयोजनाको आज नगरपालिकाले दुईवटा निर्माण कम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेको छ । निर्माण कम्पनीले सहिद वीरेन र विश्वनाथ मार्ग आगामी २०२५ जुलाई १५ तारिखसम्ममा सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सहिद वीरेन मार्ग एनएनटी डेभ्लोपर पटना भारतले २७ करोड २१ लाखमा ठेक्का पारेको हो । यसअन्तर्गत धुलाबारी बजार सिरान हुँदै थोप्ले विरानसम्म ५.४७० किलोमिटर कालोपत्रे हुनेछ ।
त्यस्तै, सहिद विश्वनाथ मार्ग कनकाई इन्टरनेसनल विल्डर्स झापाले ३० करोड ८७ लाखको लागतमा ठेक्का पारेको छ । यसले काँकरभिट्टाको बर्मेली टोलदेखि बाहुनडाँगीसम्मको ८.३८० किलोमिटर सडक निर्माण गर्नेछ ।