२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

‘नगरपालिकाको लापरबाहीका कारण शिक्षक भण्डारीको मृत्यु’


मेचीनगर, जेठ १५ । पौडी खेल्ने क्रममा डुबेका झापाको मेचीनगरका शिक्षक धनराज भण्डारीको मेचीनगर नगरपालिकाको लापरबाही तथा बेवास्ताको कारण मृत्यु भएको स्थानीयबासीले आरोप लगाएका छन् ।

मेचीनगर-३ बडाखालका ४० वर्षीय भण्डारी आज दिउँसो निन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर बेहोश भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको छ ।

स्थानीयबासीका अनुसार मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि लगाएको ठेक्काका कारण सो स्थानमा गहिरो बनाइएको छ ।

मापदण्डविपरीत उत्खनन गर्दा झण्डै चार किलोमिटर क्षेत्रमा करिब २० फिट गहिरो बनाइएको उनीहरुको भनाइ छ ।

आज विदाको दिन दिउँसो १ बजेतिर ८ वर्षीय र १३ वर्षीय छोरा लिएर नवज्योति माध्यमिक विद्यालयका शिक्षक भण्डारी पौडी खेल्न खोलातर्फ गएका थिए ।

सुरुमा जेठो छोरा खोलामा डुब्न खोजेपछि बचाउनका लागि भण्डारी ठेकेदारले गहिरो बनाएका ठाउँतर्फ धकेलिएका थिए । छोरो किनारतर्फ आए पनि भण्डारी भने गहिरो क्षेत्रमा परेर डुबेका थिए ।

यो याममा निन्दा खोलामा एकदेखि दुई फिट गहिरो पानी हुने भए पनि नदीजन्य पदार्थ निकाल्दा आवश्यकभन्दा खाल्डो भएकाले भण्डारी डुबेको स्थानीय शिक्षक तथा बाहुनडाँगी जेसिजका अध्यक्ष देबु बानियाँले बताए ।

नगरपालिकाले समयमा अनुगमन नगर्दाको परिणाम आज शिक्षक भण्डारीको मृत्यु बन्न पुगेको स्थानीयबासीले जिकिर गरेका छन् ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय झापाले घटनाका बारेमा थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी मिमबहादुर लामा घटनास्थलमा पुगेर मुचुल्का सम्पन्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer