बिर्तामोड, जेठ १७ । झापा प्रहरीले बिर्तामोड–४ शिवनगर टोलकी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्न भएको आरोपमा पाँचजनालाई सार्वजनिक गरेको छ ।
आज जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले विष्टको हत्या भएको २२ दिनपछि अपराधमा संलग्नलाई सार्वजनिक गरेको हो ।
प्रहरीले घटनामा संलग्न बिर्तामोड-४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीयन वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगीरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको हो ।
घटनाका मुख्य योजनाकार गंगाप्रसादसहित चारजना विष्टका छिमेकी हुन् भने कामी चोरीको सामान किन्ने पसलका सञ्चालक रहेको जिल्लन प्रहरी कार्यालय झापाले जनाएको छ ।
अर्जुनधारा-६ का कामीको हनुमान सुन पसल भन्ने रहेको छ । त्यस्तै, महेश घटनाका मतियार रहेको, गंगाप्रसादकी पत्नी वर्षा चोरेको सामान लुकाउन सहयोगी भएको र भगीरथ चोरीको सामान बेच्न सहयोगी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरुको साथबाट मृतक विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत सुनका सामग्री बरामद गरिएको छ । राजवंशीले ट्युबवेलको छेउमा उक्त सुनका सामग्री माटोमा गाडेको अवस्थामा प्रहरीले भेटेको थियो ।
करिब तीन कठ्ठा जग्गामा कम्पाउन्ड गरेर एकतले घरमा छोरीको छोरा नातिसँग बस्दै आएकी विष्टको बैशाख २६ गते मातातीर्थ औँशीको दिन हत्या भएको थियो ।
नाति घर गएको तथा विष्ट घरमा एक्लै भएको अवस्थामा उनी मृत भेटिएकी थिइन् । उनको रड तथा खन्तीले हानेर हत्या गरिएको प्रहरीले सोही समय पुष्टि गरेको थियो ।
प्रहरीका अनुसार मृतकको शव भुइँमा रगतमा लटपटिएको र कोल्टे परेको अवस्थामा भेटिएको थियो ।
एकल महिला विष्टका जेठा छोराको परिवार अमेरिका र कान्छो छोराको परिवार काठमाडौँमा बस्दै आएका छन् ।
प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुर समेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत दिए पनि लिटल फ्लावर्स स्कुलदक्षिण पुगेपछि अल्मलिएको थियो ।
सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी अनारमनीको प्रहरीको टोलीले संयुक्त अनुसन्धान गरेका थिए ।