बिर्तामोड, जेठ १८ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले जेठ १९ गतेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ रुपैयाँका दरले मूल्य घटेको हो । भारतबाट घटेर आएसँगै नेपालमा पनि मूल्य घटेको निगमले जनाएको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
अब झापासहित तराईका जिल्लामा पेट्रोलको मूल्य १६५ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५० रुपैयाँ ५० पैसा भएको छ ।
सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ । तर, भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।