बिर्तामोड, जेठ १९ । नेपालमा आगामी १० दिनमा मनसुन भित्रिने भएको छ । झापा हुँदै यही जेठ २८ गते नेपाल पस्ने मनसुन यस वर्ष सरदरभन्दा छिटो भित्रिने सम्भावना देखिएको छ ।
५६ वर्षको अवधिमा अहिलेसम्म २०६३ सालमा छिटो मनसुन भित्रिएको थियो । त्यो वर्ष जेठ १८ गते मनसुन भित्रिएर असोज १२ गते बाहिरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बंगालको खाडी हुँदै भारतको दक्षिण प्रान्त केरला आइसकेको छ । मौसमविद् वरूण पौडेलले बुधबार केरलामा मनसुन भित्रिसकेको बताए ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार भारतको मेघालय, त्रिपुरा, केरलालगायत प्रान्तमा मनसुन भित्रिएको र उत्तरपश्चिम क्षेत्रतर्फ प्रभाव विस्तार गर्न थालेकोले नेपालमा पनि समयमै आइपुग्ने सम्भावना छ ।
साधारणतया नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ । अघिल्लो वर्ष जुन १४ अर्थात जेठ ३१ मा भित्रिएर असोज २८ गते बाहिरिएको थियो ।
पानी पार्ने मौसम प्रणाली बंगालको खाडी हुँदै नेपाल भित्रिने गर्छ । भू–मध्यरेखामा पर्ने पूर्वी अफ्रिकी मुलुक सोमालियाबाट नेपाल आइपुग्ने मौसम प्रणाली सुरू हुने मौसमविद् बताउँछन् । सोमालियबाट नेपालसम्म आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ ।
योपालि धेरै वर्षा हुने
गत बैशाख ३१ गते जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा सरदरभन्दा बढी पानी पर्ने आँकलन गरेको थियो ।
जल तथा मौसम विज्ञान विभाग, विश्व मौसम संगठन, दक्षिण एसियाली मौसमविद्हरूको संगठनले अध्ययन गरेर सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको हो ।
आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको विभागले बताएको थियो ।