भद्रपुर, जेठ १९ । भद्रपुरकी किशोरी श्रेया राईमाथि हतियार प्रहार गर्ने अभिषेक कर्णविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कुसरमा मुद्दा दायर हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार हिजो शुक्रबार १८ वर्षीय अभिषेकले धारिलो दाउ प्रहार गर्दा १७ वर्षीया श्रेया सख्त घाइते भएकी थिइन् ।
श्रेयाको टाउको र दुवै हातमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । उनको ओम साई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
ज्यान मार्ने नियतले धारिलो हतियार प्रहार गरेको आरोपमा घटनालगत्तै अभिषेकलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनलाई आइतबार भोलि ज्यान मार्ने उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान गर्ने चन्दले झापा टुडेलाई जानकारी दिए ।
प्रहरीका अनुसार हिजो पक्राउ परेका अभिषेकविरुद्ध २४ घण्टाभित्र म्याद थप गर्नुपर्नेमा आज शनिबार विदा भएकाले भोलि अदालतसमक्ष पेश गरिनेछ ।
हालसम्म उनी १८ वर्ष पूरा भएको विवरण आए पनि जन्मदर्ता वा विद्यालयको प्रमाणित कागजात झिकाएर सोहीअनुसार अनुसन्धान सुरु गरिने चन्दले बताए ।
अभिषेक नाबालक ठहरिए कानुनअनुसार गोप्य राखेर बालबालिकासम्बन्धी ऐनअन्तर्गत अनुसन्धान हुनेछ । सो भए उनलाई सजाय पनि केही कम हुने कानुनी व्यवस्था छ ।
हिजो बिहान १०ः४५ बजे प्रेम सम्बन्धमा खटपट भएका कारण भद्रपुर–६ भानुचोकका अभिषेकले भद्रपुर–९ घोडामारास्थित शान्तिटोलकी १७ वर्षीया श्रेयामाथि धारिलो हतियार (दाउ) प्रहार गरेका थिए ।
प्रहरीका अनुसार श्रेया एसएस निकेतन अंग्र्रेजी माविमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् । सोही विद्यालयमा पढ्ने अभिषेक कक्षा १२ को वार्षिक परीक्षा दिएर बसेका थिए ।
बसबाट ओर्लिएर घरतर्फ हिँडेर गइरहेकी श्रेयामाथि अभिषेकले बाटो छेकेर एक्कासि दाउ प्रहार गरेका थिए । पक्राउपछि अभिषेकले श्रेया आफ्नी प्रेमिका भएको र प्रेम सम्बन्धमा विवाद बढेपछि दाउ प्रहार गरेको प्रहरीसमक्ष बयान दिएको जनाइएको छ ।