
मेचीनगर, जेठ २८ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा रोहितकुमार बुढाथोकी निर्वाचित भएका छन् ।
आज बिहान २ बजे सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार बुढाथोकीले १९९१ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रतिस्पर्धी सन्तोष आचार्यले १८०८ मत प्राप्त गरे ।

१८३ मतान्तरले बुढाथोकी निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिए । अध्यक्षका अर्का प्रतिस्पर्धी सुदर्शन खड्काले ३४६ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरीले २२६२ मत प्राप्त गरी विजयी भए । राजकुमार दाहालले १२१९ मत र कृष्ण सुवेदीले ६३० मत प्राप्त गरे ।
सचिवमा विशाल तामाङले १७४५ मत प्राप्त गरी विजयी हुँदा दिलिपजंग सुब्बाले १६६३ मत र नरेन्द्र शिवाकोटीले ५९८ मत पाएका छन् ।

कोषाध्यक्षमा विमला तामाङले २०६५ मत पाएर विजयी हुँदा विमला देवकोटाले १४६३ मत र सुधादेवी खड्काले ३९८ मत पाए ।
त्यस्तै, कार्यसमिति सदस्यहरुमा महिलातर्फ इन्दिरा बुढाथोकी र मिरा कार्की विजयी भएका छन् । इकाइ सदस्यतर्फ इकाइ नम्बर २, ३ र ४ बाट इन्द्र प्रधान विजयी भए ।

त्यस्तै, इकाइ सदस्य इकाइ नम्बर ५ र ८ बाट केदारजंग भट्टराई १४६० मत प्राप्त गरी विजयी भए । इकाइ नम्बर ६ र ७ बाट डिल्लीकुमार काफ्ले विजयी भए ।
लेखा समिति संयोजकमा सोमराज ढकाल विजयी भए । लेखा समिति सदस्यमा बालकुमार भुजेल र जोस्ना राजवंशी विजयी भए ।
शनिबार सम्पन्न मतदानमा ४ हजार ९१८ मत खसेको निर्वाचन समितिका संयोजक कार्कीले जानकारी दिए । संस्थामा ६ हजार ६७४ मतदाता रहेका थिए । ३१० मत बदर भएको थियो ।