बिर्तामोड, जेठ ३० । झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।
यही असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना फर्स्ट स्टेप फिटनेसले गर्न लागेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो ।
प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेका अनुसार झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको हो ।
अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार, दोस्रोले नगद एक लाख एक हजार, तेस्रोले नगद ७६ हजार, चौथोले नगद ५१ हजार र पाँचौँले नगद ३६ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको विधामा हुनेछ । प्रत्येक विधाका प्रथमले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार रुपैयाँ पाउने प्रतियोगिताका सचिव माधव झाले बताए ।
त्यस्तै, व्यक्तिगततर्फ बेस्ट मस्कुलर र बेस्ट फिजिक्सतर्फका विजेताले नगद पाँच हजार रुपैयाँ पाउने छन् । प्रत्येक विधाबाट एकएकजना च्याम्पियनसिपका लागि छनोट हुने छन् ।
प्रतियोगिता सम्पन्न गर्न नगद १५ लाख रुपैयाँ लाग्ने प्रतियोगिताका सचिव झाले बताए ।