बिर्तामोड, असार ४ । झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । वर्षासँगै आएको बाढीले मकै बलाीमा क्षति पुगेको छ ।
बिहानैदेखिको भारी वर्षाका कारण पछिल्लो चार घण्टामा झापाको दमक, कनकाई र अनारमनी वीरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
तीन दिनयता लगातार परेको पानीको कारण कनकाई माई खोलामा आएको बाढीले झापा गाउँपालिकामा मकैबाली नष्ट भएको छ ।
झापा-२ सुगाबथान टोल नजिकमा स्थानीय कृषकले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैबीच, वर्षासँगै परेको चट्याङका कारण झापा ३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको २ बिघा खेतको परालमा आगलागी भएको छ ।
शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा आज बिहान ०६ः५० बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।