बिर्तामोड, असार १३ । राष्ट्रिय परीक्षा बोर्डले फेल भएकाहरूले माध्यमिक शिक्षा परीक्षा (एसइइ) यही साउन १८ र १९ गते दिन पाउने जनाएको छ ।
परीक्षा बोर्डका अध्यक्ष डक्टर महाश्रम शर्माले २०८० सालको एसइइ नतिजा प्रकाशनसम्बन्धी पत्रकार सम्मलेलनमा उक्त जानकारी दिएका हुन् ।
आज सार्वजनिक भएको नतिजाअनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल अर्थात नन ग्रेडिङ (एनजी) भएका छन् । उनीहरूले साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् ।
अध्यक्ष शर्माले बढी अंग्रेजी, विज्ञान र गणित विषयमा फेल भएको जानकारी दिए । उनका अनुसार गणितमा एक लाख ७७ हजार ९८५ जना, अंग्रेजीमा एक लाख एक हजार ३८३ जना र विज्ञानमा एक लाख २६ हजार ९३३ जना परीक्षार्थीहरू एनजी भएका छन् ।
त्यस्तै, सामाजिकमा ७३ हजार ८७७ जना र अर्थशास्त्रमा ६९ हजार ४१६ परीक्षार्थीहरू एनजी भएको उनले जानकारी दिए ।
बोर्डका अनुसार उक्त परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ । ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् ।
दुईभन्दा बढी विषयमा नन ग्रेडिङमा पर्ने एक लाख २६ हजार ४७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्ने जनाइएको छ ।