२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका दुई युवा सर्बियामा बन्धक, परिवारसँग फिरौती माग


बिर्तामोड, असार १५ । झापा बिर्तामोडका दुईजना युवा युरोपेली मुलुक सर्बियामा बन्धक बनाइएको खबर परिवारले पाएपछि उद्धारका लागि आग्रह गरेका छन् ।

झापा बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी मध्य-दक्षिण-पूर्वी युरोपमा पर्ने सर्बियाको जंगलमा बन्धक बनाइएको उनीहरुका आफन्त तथा बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य शर्मिला राजवंशीले बताइन् ।

उनीहरु मेचीनगर इटाभट्टाकी सपना राजवंशीमार्फत काठमाडौँका विज्ञान खरेलको सम्पर्कमा पुगेको र खरेलले नै उनीहरुलाई विदेश पठाएको पारिवारिक स्रोतले जनाएको छ । सपनाका पति नरेश राजवंशी रोमानियामा छन् । उनीमार्फत राजवंशीद्वय गएको बताइएको छ ।

बन्धक बनाएको खबरपछि घरका सबै सदस्य चिन्तित बनेको बताउँदै आज बिहान एजेन्ट सपनालाई घरमा बोलाएको कार्यपालिका सदस्य शर्मिलाले जानकारी दिइन् ।

बन्धकमा परेका उनीहरुलाई ज्यान मार्ने धम्की दिएपछि राजवंशी परिवार तनावमा परेका छन् । हिजोदेखि रातिसम्म लगातार टेलिफोन गरेर त्यस्तो धम्की दिएको परिवारले जनाएका छन् ।

बन्धक बनाएको भनिएका आमाशु शर्मिलाका काका र पशुपति काकाका छोरा हुन् । आमाशु गत चैतको अन्तिम र पशुपति बैशाखको पहिलो साता विदेश गएका थिए ।

उनीहरु साढे ६ लाख रुपैयाँ खर्चिएर इजिप्टका लागि गएका थिए । मानव तस्करले राजवंशीसहित ११ जनालाई सर्बिया पुर्याइएको थियो । अन्यको बारेमा खुलेको छैन ।

फोनबाट आफन्तहरुलाई जनही ३ लाख पठाइदिन अनुरोध गरेको शर्मिलाले बताइन् । उनले भनिन्, ‘पैसा नदिए मार्ने धम्कीसहित बिहानदेखि रातिसम्म लगातार फोन आइरहेको छ, घरि हिन्दी बोल्छन् घरि अरु भाषा ।’ उनले फिरौती रकम बढाउँदै लगेको जानकारी दिइन् ।

११ जनालाई सर्बियाको जंगलमा हातखुट्टा बाँधेर बन्धक बनाइएको खबर आएको शर्मिलाले सुनाइन् । रकम पठाउन एकाउन्ट नम्बर पनि पठाइएको र राजवंशी परिवारले पैसा पठाउन खोज्दा एकाउन्ट नम्बर भने नमिलेको बताइएको छ ।

आफन्त समस्या परेको कुरा शर्मिलाले इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रशासन कार्यालय झापा र सामी परियोजनामा जानकारी गराएको बताइन् ।

इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले नेपाली बन्धक भएको खबर परिवारमार्फत आएको र बन्धक भएकै भए उद्धारका लागि सम्बद्ध निकायसँग समन्वय गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer